चाडपर्वको समयमा सवारी दुर्घटनाका घटनाहरू बढी हुने गरेका छन् । नेपालमा प्रत्येक वर्ष चाडपर्वका समयमा सवारी दुर्घटना हुने क्रम अन्य समयको तुलनामा बढी हुन्छ । यस वर्षको दसैँमा पनि सवारी दुर्घटनाहरू भए । जसबाट सुदूरपश्चिममा मात्रै १३ जनाले ज्यान गुमाए । घटस्थापनाको दिनदेखि असोज ३० गते पूर्णिमा सम्मको अवधिमा भएका सडक दुर्घटनामा १३ जनाले ज्यान गुमाएका हुन । सो अवधिमा २१ वटा सडक दुर्घटना भएका र ४६ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार दसैँ अवधिमा प्रदेशका ४ जिल्लामा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै सवारी दुर्घटना कैलालीमा भएका छन् । दसैँ अवधिमा भएका २१ दुर्घटना मध्ये कैलालीमा मात्रै १७ वटा सवारी दुर्घटना भएका हुन । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् ।

पहाडी क्षेत्रमा हुने सवारी दुर्घटनाको कारण ओभर लोड सवारी, बाटोको अवस्था लगायत हुने गरेका भए पनि तराई क्षेत्रमा दुर्घटनाका कारण वृद्धि हुनुमा भने सवारी चालककै लापरबाहीलाई लिन सकिन्छ । तराई क्षेत्रमा सडकको अवस्था राम्रो छ । तर पनि दुर्घटना बढ्नुले सवारी चालकको लापरबाही नै मुख्य कारण हुन सक्ने देखिन्छ ।

सुदूरपश्चिमकै सबैभन्दा विकसित जिल्लाका रूपमा रहेको कैलालीमै सवारी दुर्घटना बढी भएका छन् । हुन त चाडपर्वको समयमा बजार क्षेत्रमा मानिसहरूको भिडभाड बढी हुने भएकाले पनि दुर्घटनाको जोखिम हुने गर्दछ । तर त्यस्तो समयमा पनि चालकले लापरबाही नगरे दुर्घटना हुने सम्भावना कम हुन्छ ।
दसैँमा अन्य समयको तुलनामा बढी भिडभाड हुने भएकाले यो समयमा विशेष सडक सुरक्षा व्यवस्था गरिँदै आएको छ । सडकमा चेकजाँचमा कडाइका साथै सडक पनि मर्मत गरिने गरेका छन् । तर, पनि दसैँको समयमा हुने सवारी दुर्घटनामा कमी भने आउने सकेको छैन । जसले गर्दा दसैँका लागि सडकको यात्रा गर्ने केही यात्रुका लागि दसैँ दशा नै बनेर आउने गरेको छ ।
चाडपर्वका समयमा हुने यस्ता घटनाहरूको न्यूनीकरणका लागि सर्वप्रथम स्वयम् चालकले नै ध्यान दिनुपर्दछ । चालकले लापरबाही नगरी सवारीसाधनको क्षमता अनुसार सवारी बोक्नुपर्दछ । सवारीको अवस्थाको बारेमा पनि बिचार पु¥याउनुपर्दछ । त्यसबाहेक त्यसको जिम्मेवार निकाय ट्राफिक प्रहरी पनि हो । ट्राफिक प्रहरी कार्यालयले पनि चाडपर्वको समयमा हुने यस्ता किसिमका गतिविधिहरूलाई ध्यानमा राखी विशेष सतर्कता अपनाउनुपर्दछ ।
चाडपर्वमा हुने सवारी दुर्घटनामा कमी ल्याउन सवारी साधनहरूलाई नियमित चेकजाँच गर्ने, सिट क्षमता भन्दा बढी यात्रु तथा भारी हाल्न नदिने, सवारी साधनको अवस्थाको बारेमा सोधपुछ गर्ने र सवारी चालकको बारेमा बुझ्ने लगायतका कार्यहरू ट्राफिक प्रहरीले गर्नुपर्दछ । त्यसका साथै चाडपर्वका समयमा यात्रुहरूको चापलाई हेरेर सवारी साधनको क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्न खोज्ने सवारी धनिहरुलाई कारबाही पनि गरिनुपर्दछ । यसो गर्दा चाडपर्वमा हुने सवारी दुर्घटनामा केही कमी ल्याउन सकिन्छ ।

















