अछाम – अछाममा आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्रीद्धयले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन् ।
बुधवार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम आएका हुन् । क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिएका थियो । मङ्गलवार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ ।



माया मेट्रोको सहयोग
यसैबिच आगलागी पीडितलाई माया मेट्रो अस्पताल धनगढी राहतस्वरूप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग राशीसहित अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन ।
आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
