
धनगढी – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको कार्यदल बैठकले नयाँ पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिह्न ‘ढकिया’ हुने सहमति गरेको हो। ढकिया हाल नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो। नयाँ झण्डामा आयातकार झण्डाको बीचमा ढकिया राखिनेछ।
पार्टी संरक्षकमा रेशमलाल चौधरी, कार्यकारी अध्यक्षमा सीके राउत र तेस्रो वरियतामा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ। चितवनदेखि झापासम्मको नेतृत्व राउतले र चितवनदेखि पश्चिमको जिम्मेवारी चौधरीले सम्हाल्ने छन्।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार वैशाख दोस्रो साताभित्र एकता प्रक्रिया टुंग्याई वैशाख १५ गते पार्टी घोषणा गरिनेछ। एकता प्रक्रिया अघि बढाउन वैशाख ५ र ६ गते टीकापुरमा नाउपाको बैठक बस्ने छ।
जनमत र नाउपाबीचको एकताको प्रयास गत प्रतिनिधिसभा चुनावमा दुवै दलले देखाएको प्रभावलाई एकीकृत गर्दै मधेश–तराईमा निर्णायक पहिचानवादी शक्ति बन्ने लक्ष्यका साथ अघि बढाइएको हो।
प्रतिनिधिसभामा नाउपाले प्रत्यक्षतर्फ ४ सिट र जनमतले १ सिट जितेका थिए। जनमतले समानुपातिकतर्फ ५ सिट जितेको थियो। प्रदेश सभामा नाउपाका सुदूरपश्चिममा ७, लुम्बिनीमा ४, मधेशमा १ सांसद छन्। जनमतका मधेशमा १३ र लुम्बिनीमा ३ सांसद छन्। एकीकरणपछि मधेशमा चौथो र लुम्बिनीमा चौथो स्थानमा नयाँ दल रहनेछ।
दुवै पार्टीले एकताका लागि कुनै विशेष सर्त नराखेको र पहिचानको मुद्दामा साझा अडान रहेको जनमत अध्यक्ष सीके राउतले बताएका छन्।