धना बोहरा, अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार पवन सुनारले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । अखिल कान्तिकारीबाट चुनावी मैदानमा होमिएका सुनारले आइतबार पत्रकारहरू सँग कुराकानी गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन ।

जसअन्तर्गत उनले क्याम्पसमा पुस्तकको समस्या समाधानका लागि पहल गर्ने, क्याम्पसमा खेलमैदान व्यवस्थित बनाउन, शुद्ध खानेपानीको समस्या समाधानका लागि पहल गर्ने, संस्कृतीको जगेर्नाका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताए ।
उनले क्याम्पसमा विद्यार्थी नेताबाटै हुने अव्यवहारिक गतिविधि रोक्नका लागि भूमिका खेल्ने, पढ्दै कमाउँदै भन्ने नारा साकार पार्न कार्यक्रम सञ्चालन गर्ने, डिजिटल केएमसी बनाउने, गेट नजिकै सोधपुछ कक्ष स्थापना गर्न पहल गर्ने, क्याम्पसमा संस्कारको विकास गर्ने योजना रहेको बताए ।

यस्तै क्याम्पसको जग्गालाई घेरबार गरेर आफ्नो स्वामित्वमा राखी त्यसको पूर्ण सदुपयोग गर्न खाली जग्गामा खेती गर्ने, प्रयोगात्मक विषयमा इन्ट्रान्सिपको व्यवस्था गर्ने लगायतका आफ्ना चुनावी एजेन्डा रहेको उनले बताए ।


















