प्रारम्भिक ब्याटर सम्झना खड्काले अर्धशतक प्रहार गरेपछि नेपालले एसीसी महिला एसिया कपमा विजयी शुरूआत गरेको छ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । श्रीलङ्काको दाम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको छ ।


नेपालका लागि खड्काले ७२ रन बनाइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । त्यस्तै, नेपालका लागि रुबिना क्षेत्रीले १०, सीता राना मगरले सात, इन्दु बर्माले ६ र करुण कुँवरले दुई रन बनाइन् । यूएईका लागि कविसा इगोजले तीन र लभन्या केनीले एक विकेट लिए। अन्य खेलाडीले राम्रो बलिङ गर्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईका लागि खुशी शर्माले ३६, कविसा इगोजले २२, समैरा धर्मिधर्काले १३ र इशा वजाले १० रन बनाइन् । नेपालका लागि इन्दु बर्माले तीन, शवनव राई र कृतिका मरासनीले एक–एक विकेट लिए ।
