धनगढी – कैलालीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ।
कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका १६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता असोज ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


प्रतियोगिताको विजेताले ४ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
कैलाली जिल्ला क्रिकेट सङ्घले आफ्नो वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गरेको हो । सङ्घले यसअघि ग्रासरुट क्रिकेट विकासका लागि विद्यालयस्तरीय क्रिकेट च्याम्पियनसिप तथा कैलाली प्राइड लिगलगायतका प्रतियोगिता आयोजना गर्दै आएको छ।
संघका अध्यक्ष विक्रम विष्टका अनुसार यस वर्षदेखि फास्ट टी–१० क्रिकेट प्रतियोगितालाई पनि वार्षिक क्यालेन्डरमा समावेश गरिएको हो।

















