खाेज्नुहाेस

करदाता शिक्षा र व्यवसायमैत्री वातावरण निर्माणमा जोड

Image

डडेल्धुरा– डडेल्धुरामा कर तिर्ने संस्कारको विकाससँगै व्यवसायीका समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले सोमबार आयोजना गरेको कर सप्ताह समापन कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा जनप्रतिनिधिले कर प्रणालीलाई प्रभावकारी बनाउन र करदातालाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले बागबजारलगायत जिल्लाका प्रमुख बजार क्षेत्रमा व्यवसाय सञ्चालनका लागि सहज वातावरण नरहेको बताए । पसल अगाडि सवारीसाधन पार्किङ गर्दा व्यवसाय प्रभावित भइरहेको उल्लेख गर्दै उनले व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

attariya hospital

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले नागरिकमा कर तिर्ने संस्कार विकास हुन नसकेको बताए । उनले स्थानीय तहको आन्तरिक राजस्व वृद्धि गर्न नागरिकले आफ्नो सम्पत्तिको विवरण पारदर्शी राख्नुपर्ने र कर प्रणालीका कानुनी जटिलता सुधार गर्नुपर्नेमा जोड दिए ।

navjiwan hospital

प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले कर तिर्नु राज्य निर्माणमा योगदान गर्नुका साथै रोजगारी सिर्जनासँग पनि जोडिएको बताए । बढी रोजगारी सिर्जना गर्ने उद्यमी तथा रोजगारदातालाई प्रोत्साहन गर्दै नयाँ व्यवसाय सञ्चालनका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत गगनबहादुर शाहीले मंसिर १ गतेदेखि सञ्चालन गरिएको कर सप्ताहका क्रममा करदाता शिक्षा, अन्तरक्रिया तथा करसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए । डडेल्धुरास्थित कार्यालयले सुदूरपश्चिमका सात जिल्लाको राजस्व प्रशासनसम्बन्धी काम गर्दै आएको छ ।

कर सप्ताह समापनका अवसरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कृषितर्फ केदारनाथ कृषि सेवा केन्द्र, फर्मतर्फ दार्चुलाको ठगुन्ना जनरल स्टोर र प्रालितर्फ जीबीएल हार्डवेयर प्रालिलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने संस्कार विकास गर्न सके राज्यको आन्तरिक स्रोत बलियो हुने र विकास निर्माणमा समेत सहयोग पुग्ने बताएका थिए ।