अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि तथा पशु उपचार केन्द्र अगाडि घाइते भएर बेवारिसे छोडिएको गाइको बाछीको उद्धार गरिएको छ । आइतबार राती बर्दियामा रहेको सोल्टिज होप नामक संस्थाले तीन दिन देखि उपचार नपाएर अलपत्र छोडिएको गाइको उद्धार गरेको हो ।

स्थानीय योगेश चन्दका अनुसार घाटीमा गहिरो घाउ भएको उक्त गाइलाई उपचारका लागि ल्याइएको भए पनि कृषि तथा पशु उपचार केन्द्रले बेवास्ता गरेपछि बर्दिया पठाइएको बताए ।
‘धनगढी अत्तरिया सडक किनारामा मोटरसाइकलको ठक्करबाट घाइते भएको गाइको उपचारका लागि आउँदा यहाँ झन् उपचार नपाएर दर्दनाक अवस्थामा गाईको बाछी देख्यौ’ उनले भने ‘बोरामा लपेटिएको अवस्थामा गाईको बाछी मरिरहेको थियो । घाटीमा ठुलो घाउ थियो । बेवारिसे छोडिएको बाछीको आँखा पनि कागले निकालेको रहेछ । हामीले किन उपचार नगरेको भन्दा औषधी छैन, बिदाको दिन उपचार हुँदैन भनेपछि घाइते पशु चौपायाको उद्धार गर्ने सोल्टिज होप संस्थालाई खबर गरेका हौ ।’

उक्त गाइको बाछिलाई योगेश चन्दको पहलपछि स्थानीय गौ संरक्षणकर्मी जनक पन्त लगायतको सहयोगमा उद्धार गरेर बर्दिया लगिएको थियो ।

सोल्टिज होपका अध्यक्ष प्रकाश मल्लले पशु उपचार केन्द्र अगाडि नै यस्तो अवस्थामा गाइको बाछिलाई बेवारिसे अवस्थामा छोडेको देख्न नसकेर उद्धार गरेर लगिरहेको बताए ।
उनले आफूहरूले आफ्नो संस्थाले घाइते बिरामी पशु, पंक्षीकाे उद्धार उपचार, व्यवस्थापन तथा आधिकारका लागि काम गरिरहेको बताए । उनले गाइको बाछीको अवस्था नाजुक भए पनि उपचार पछि निको हुने विश्वास लिइएको बताए ।

आइतबार राती बर्दियाबाट अत्तरिया पुगेका उनले स्थानीय स्तरमै उपचार र व्यवस्थापनको लागि पहल गर्दा कसैले पनि वास्ता नगरेको बताए । त्यसपछि उक्त गाइको बाछीको राती नै उद्धार गरेर बर्दिया लगिएको थियो ।
भिडियाे

















