खाेज्नुहाेस

अत्तरिया बसपार्क व्यवस्थापन गर

Image

राजधानी घोषणा भएसँगै गोदावरी नगरपालिकाको महत्व सुदूरपश्चिमका अन्य पालिकाको तुलनामा फरक छ । राजधानी अवस्थीत पालिका भएकाले यहाका हरेक गतिविधिहरुमा प्रदेशकै चासो रहन्छ । त्यसमा पनि नगरमा रहेको एकमात्रै बसपार्कको अवस्थाको बारेमा त सबैले चासो नदिने कुरै भएन । पुर्वपश्चिम दुवै क्षेत्रलाई जोड्ने यो बसपार्कबाट सुदूरपश्चिमका पहाडी ७ जिल्लामा मात्रै नभई पुर्वतिरबाट पनि यातायातका साधनहरु आवत जावत गर्ने गर्दछन् । त्यसैले पनि अत्तरिया बसपार्क सुव्यवस्थीत र सुन्दर हुनुपर्दछ ।

तर प्रदेशकै घोषित राजधानीमा अवस्थीत बसपार्क भने कुरुप छ । जताततै फोहोर र ठेलागाडाले बसपार्क कुरूप बनेको हो । बसपार्कमा सवारीसाधन भन्दा बढी ठेलागाडी हुँदा अव्यवस्थित बन्नुको साथै जताततै फालिएको फोहोरले बसपार्कलाई दुर्गन्धित र कुरुप बनाएको छ । बसपार्क भित्र हप्तामा ३ दिन झाडो लगाइने दावी गरिएपनि बसपार्क वरिपरि भने फोहोरको डङ्गुर थुप्रिएको देखिन्छ ।

attariya hospital
navjiwan hospital

गोदावरी नगरपालिकामा फोहोर संकलन र सरसफाइको जिम्मा एउटा संस्थालाई दिईएको छ । उक्त संस्थाले नगरपालिकासँग सम्झौता गरेर सरसफाई गर्ने जिम्मा लिएको भएपनि बसपार्कको अवस्था भने नाजुक छ । बसपार्क वरपर जताजतै फोहोरै फोहोर थुप्रिएका छन । अत्तरिया बसपार्क पनि नगरले ठेक्कामा दिएको छ । तर बसपार्क र सरसफाईको जिम्मेवारी अन्य संस्थाहरुले पाएपनि सरसफाईको कार्य भने हुन सकेको छैन । जसका कारण सो बसपार्क भएर अन्त जाने यात्रुहरुले नगरको बारेमा सोच्ने धारणामा नकारात्मकता मात्रै देखिने गरेको छ ।

एउटा संस्थाले बसपार्क प्रयोग गरेवाफत रकम संकलन गरेर पनि फोहोर व्यवस्थापन गरेको छैन, अर्काे संस्थाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिएर पनि काम गरेको छैन । तर नगरपालिकाले भने दुवै संस्थालाई निर्देशन दिने तथा कारबाही गर्ने कार्य गर्न सकेको छैन । नगरपालिकाले सम्बन्धीत संस्थालाई बसपार्कको सफाई र व्यवस्थापनका लागि तत्काल निर्देशन दिन जरुरी छ । जिम्मेवारी जुनसुकै संस्थालाई दिएको भएपनि बसपार्कको मुख्य जिम्मेवारी नगरकै रहन्छ । आमजनमानसमा बसपार्कको अवस्थाले नगरप्रति नै वितृष्णा पैदा हुने गर्दछ । तसर्थ बसपार्कको सरसफाई र व्यवस्थापनको कार्यमा नगरले ढिलाई गर्नुहुदैन ।

त्यतिमात्रै हैन बसपार्क बर्सातमा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने गर्दछ । त्यस्को लागि पनि नगरले पहलकद्मी थाल्नुपर्दछ । बजारको सुन्दरताको मुख्य प्रतिकका रुपमा बसपार्क रहन्छ । यसले समग्र नगरको सुन्दरता झल्काउने भएकाले बसपार्कको सरसफाई, व्यवस्थापन र सुन्दरतामा ध्यान दिन जरुरी छ ।