खाेज्नुहाेस

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

Image
तस्विर : गणमेश्वर मन्दिर

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परम्परागत धार्मिक तथा सांस्कृतिक जात्राको रौनक छाएको छ । कात्तिक ३० गते सप्तमीदेखि सुरु भएका जात्रा तथा मेलाको चहलपहल मंसिर महिनाको मध्यसम्म जारी रहने गर्दछ । बैतडी, डडेल्धुरा, डोटी, दार्चुला र अछामका विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्राले गाउँबस्तीमा उत्सवमय बनेका छन् ।

यस क्रममा मंगलबार मात्रै बैतडी र डडेल्धुराका विभिन्न मन्दिरमा जात्रा तथा मेला सम्पन्न भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–स्थित गणमेश्वर मन्दिर, मेलौली नगरपालिकाको प्रसिद्ध मेलौली भगवती मन्दिर र डडेल्धुराको अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा मेला लागेको थियो ।
उग्रतारा भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको राति रतेडी र भोलिपल्ट दिउँसेडी मेला लाग्ने परम्परा छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा देउरो तथा पूजासामग्रीसहित मन्दिर पुगेर पूजा गरेपछि जात्रा सुरु हुने गर्छ । मेलामा सुदूरपश्चिम र कर्णालीका साथै भारतबाट समेत भक्तजन सहभागी हुने गरेका छन् ।

attariya hospital

मेलौली भगवती मन्दिरमा पनि सोमबार र मंगलबार देहीजाँत लागेको छ । जात्राका अवसरमा राँगाको बलि दिने परम्परा रहेको यस मन्दिरमा बैतडीसहित छिमेकी जिल्लाहरू र भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालु पुगेका थिए ।

navjiwan hospital

यस्तै, पञ्चेश्वरको गणमेश्वर मन्दिरमा पनि मंगलबार जात्रा सम्पन्न भएको छ । सोमबार साँझ रतेडी भएको यस मन्दिरमा मंगलबार मेला लागेको थियो । मेलाका अवसरमा चौलो समेत जाने परम्परा रहेको छ । जात्राका अवसरमा बैतडीका दशरथचन्द, मेलौली, सुर्नया, शिवनाथ र पञ्चेश्वर गरी पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए ।

यसअघि नै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ स्थित कैलपाल माण्डौँमा कात्तिक २९ गते राति र ३० गते दिउँसो कैलपाल देवताको जाँत सम्पन्न भएको थियो । त्यसैगरी बैतडीको शिवनाथ धाम, त्रिपुरासुन्दरी भगवती मन्दिरलगायतका शक्तिपीठमा पनि जात्रा सम्पन्न भइसकेका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा मंसिर ४ गते बडाल जाँत लागेको थियो । अझै डडेल्धुराको अजयमेरु जगन्नाथ धाममा, बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौरास्थित कैलपाल धुरा मन्दिरमा लाग्ने प्रसिद्ध धुरा जातको मेला लाग्न बाँकी छ । अग्लो डाँडामा रहेको कैलपाल मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठीको राति र सप्तमीका दिन जात्रा लाग्ने परम्परा छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा लाग्ने यी जात्रा धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन् । रोजगारी तथा अध्ययनका लागि कैलाली, कञ्चनपुर र भारतका विभिन्न क्षेत्रमा रहेका स्थानीय जात्राका अवसरमा गाउँ फर्किने भएकाले आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

मेलामा भारतको उत्तराखण्डका पिथौरागढ, चम्पावत र झुलाघाट क्षेत्रबाट समेत श्रद्धालु आउने भएकाले यस्ता जात्राले धार्मिक पर्यटन र स्थानीय व्यापार प्रवद्र्धनमा पनि योगदान पु¥याउँदै आएका छन् ।