धनगढी – कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जाल्पादेवी केबलकार एक महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माणको अन्तिम चरणमा रहेको केबलकार सञ्चालनमा आएपछि चिसापानीको पर्यटनले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार ३.१ किलोमिटर लामो केबलकार कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म सञ्चालन हुनेछ । कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य हेर्न आउने पर्यटकलाई राजकाँडासम्म पुर्याउने यो परियोजना सुदूरपश्चिममा निजी क्षेत्रबाट निर्माण भइरहेको ठूलो पर्यटन पूर्वाधार आयोजना हो ।

केबलकार सञ्चालनको तयारीसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको कम्पनीका लगानीकर्ता तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार केबलकारका माथिल्लो र तल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन् ।

‘केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीमा जुटेको छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो आयोजना महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास छ ।’
कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न आन्तरिक तथा भारतीय पर्यटक आउने गरेका छन् । केबलकार सञ्चालनपछि पर्यटकलाई राजकाँडासम्म पुग्न सहज हुने र बसाइँ लम्बिने अपेक्षा कम्पनीले गरेको छ ।
केबलकारसँगै चिसापानी र राजकाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि अघि बढाइएको छ । कम्पनीको गुरुयोजना अनुसारका स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरजस्ता अन्य संरचनाहरू पनि क्रमशः तयार भइरहेका छन् ।
व्यवसायी ढकाल र कैलालीका व्यवसायी सूर्यबहादुर थापाको करिब सात अर्ब रुपैयाँ संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो । केबलकारसँगै होटल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणले स्थानीय यातायात, कृषि उपज, साना व्यवसाय र रोजगारीमा समेत अवसर सिर्जना गर्ने लगानीकर्ताको अपेक्षा छ ।


















