खाेज्नुहाेस

उखुको मूल्य प्रतिक्विन्टल ७ सय पुर्‍याउन कञ्चनपुरका किसानको माग, आपूर्ति बन्द गर्ने चेतावनी

Image

सन्ताेष पन्त, बेलौरी –  कञ्चनपुरका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ कायम गर्न माग गर्दै आन्दोलनको तयारी गरेका छन् । सरकारले किसानको मागअनुसार मूल्य निर्धारण नगरे चिनी उद्योगमा उखु आपूर्ति नै बन्द गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

उखु हकहित संरक्षण समिति कञ्चनपुरको आयोजनामा मंगलबार बेलौरीको खुलामञ्चमा सम्पन्न किसान भेलाले मागअनुसार उखुको मूल्य निर्धारण नभए उद्योगमा उखु आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।

attariya hospital

समितिका अध्यक्ष हरिचन्द ठकुरीले उद्योगी र सरकार उखुको न्यूनतम मूल्य निर्धारणमा उदासीन देखिएको भन्दै किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए । केन्द्रीय उखु किसान महासंघ, नेपाल सरकार र चिनी उद्योगीबीच भएको वार्ता निष्कर्षविहीन भएपछि किसानहरू आन्दोलनको तयारीमा जुटेको उनको भनाइ छ ।

किसानहरूले सामान्य जातको उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम ६५० रुपैयाँ र उन्नत (अर्ली) जातको उखुको मूल्य ७०० रुपैयाँ कायम गर्न माग गरेका छन् । डिजेल, मलखाद, बीउबिजन, विषादी तथा कृषि मजदुरको ज्यालामा भएको मूल्यवृद्धिले उत्पादन लागत अत्यधिक बढेको भन्दै किसानले सोहीअनुसार मूल्य निर्धारण हुनुपर्ने बताएका छन् ।

navjiwan hospital

अध्यक्ष ठकुरीका अनुसार सामान्य जातको उखुबाट प्रतिक्विन्टल करिब ९ किलो चिनी उत्पादन हुने भए पनि उन्नत जातको उखुबाट ११ देखि १३ किलोसम्म चिनी उत्पादन हुन्छ । उन्नत जातको उखुबाट उद्योगीले बढी चिनी उत्पादन गरी मुनाफा कमाउने भए पनि किसानलाई प्रोत्साहनस्वरूप थप ५० रुपैयाँ दिनसमेत तयार नभएको किसानहरूको गुनासो छ ।

भेलाले माग पूरा नभएसम्म चिनी मिलहरूले आयोजना गर्ने कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा किसान तथा उनीहरूका प्रतिनिधि सहभागी नहुने निर्णयसमेत गरेको छ ।

यता सरकारले आगामी बिहीबार वा शुक्रबारसम्म उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ आसपास निर्धारण गर्ने तयारी गरेको बताइएको छ । चिनी उद्योगहरू पनि मंसिरको दोस्रो सातादेखि सञ्चालन गर्ने तयारीमा छन् ।

उद्योग सञ्चालनको तयारी भइरहँदा उखुको मूल्य निर्धारणमा सहमति नजुटेपछि यस वर्षको उखु क्रसिङ प्रभावित हुन सक्ने देखिएको छ ।