बैतडी – बैतडीका नौवटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारिए पनि जिल्लामा अस्पताल निर्माण तथा सञ्चालनको अवस्था निराशाजनक देखिएको छ । कतै अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत अघि बढ्न सकेको छैन भने कतै निर्माणाधीन संरचना अलपत्र परेका छन् ।
तत्कालीन सरकारले २०७७ मङ्सिर १५ गते ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ अभियान सुरु गरेको थियो । तर शिलान्यास भएको छ वर्ष बितिसक्दा पनि बैतडीका अधिकांश स्थानीय तहमा अस्पताल निर्माणले पूर्णता पाउन सकेको छैन ।

जिल्लाको दुर्गम सिगास गाउँपालिका–८, भुणमा १६ करोड रुपैयाँ लागतमा निर्माण गर्ने भनिएको अस्पताल बजेट अभावमा डीपीआरमै सीमित रहेको छ । स्वास्थ्य संयोजक घनश्याम बोहराका अनुसार बजेट नआउँदा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
यस्तै, पाटन नगरपालिकामा १४ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको १५ शय्याको अस्पतालको काम पनि सुस्त छ । आर्थिक वर्ष २०७७/७८ देखि ठेक्का प्रक्रियामा गएको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण पहिलो तलासमेत निर्माण हुन नसकेको स्वास्थ्य शाखा संयोजक मदन महराले बताएका छन् । सम्झौताअनुसार भवन निर्माणको काम २०८३ जेठमा सम्पन्न हुनुपर्ने थियो ।

पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा पनि २०७७ सालमै नौ करोड रुपैयाँको ठेक्का सम्झौता भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन । स्वास्थ्य संयोजक विनोदबहादुर कुँवरका अनुसार अहिले ठेकेदारको समेत अत्तोपत्तो छैन ।
शिवनाथ गाउँपालिका–६, सुल्लेखानमा सात करोड तीन लाख ७४ हजार रुपैयाँ लागतमा पुनः शिलान्यास गरेर निर्माण सुरु गरिएको भए पनि कामले गति लिन सकेको छैन । सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका–७ धामीगाउँ र पञ्चेश्वरमा समेत अस्पताल निर्माणको काम ठप्पप्रायः रहेको छ ।
अर्कोतर्फ, डिलासैनी गाउँपालिकामा आधारभूत अस्पतालबाट सेवा सञ्चालनमा आएको छ । तर निर्माण सम्पन्न भएर पनि सबै अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । दोगडाकेदार गाउँपालिका–६, सित्तडमा आठ करोड ५१ लाख ४६ हजार रुपैयाँ लागतमा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न भए पनि सेवा सुरु हुन सकेको छैन ।
अस्पताल भवन तयार भए पनि आवश्यक जनशक्ति, उपकरण, खानेपानी तथा अन्य पूर्वाधारको अभाव र भवन हस्तान्तरण प्रक्रियामा ढिलाइ हुँदा प्रयोगमा आउन नसकेको जनाइएको छ ।
त्यस्तै, डिलासैनी र मेलौलीमा जग्गा विवादका कारण अस्पताल निर्माण प्रभावित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सरकारले नागरिकलाई स्थानीय तहमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेको अभियान छ वर्ष बितिसक्दा पनि बैतडीमा अपेक्षित रूपमा कार्यान्वयन हुन सकेको छैन । यसले दुर्गम क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि समेत टाढा जानुपर्ने अवस्था कायमै रहने देखिएको छ ।


















