धनगढी– पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र सञ्चारमाध्यममाथिको दबाबको विरोधमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले विरोध प्रदर्शन गरेको छ । महासंघले सञ्चालन गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार बिहान पत्रकारहरू जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सञ्चार क्षेत्रमाथि भइरहेको हस्तक्षेप रोक्न माग गरेका छन् । महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार सञ्चारमाध्यमका कार्यालयमा धरपकड गर्ने, मिडिया हाउसको प्रवेशद्वारमा सवारीसाधन राखेर अवरोध सिर्जना गर्ने तथा पत्रकारहरूलाई पक्राउ गर्ने गतिविधि बढेको भन्दै विरोध गरिएको हो ।

त्यसैगरी, सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने र श्रमजीवी पत्रकारलाई रोजगारीबाट हटाउने कार्यप्रति पनि महासंघले आपत्ति जनाएको उनले बताए । सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गर्न उनीहरूले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले पत्रकार र सञ्चारमाध्यमको अधिकार रक्षाका लागि आन्दोलनलाई निरन्तरता दिइने बताएका छन् । महासंघले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न तथा पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यममाथिको दबाब अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।


















