भोकमरीले सताएपछि २०२३ सालमा डोटीको पोखरी गाउँबाट थुप्रै परिवार कैलालीको ओलानी झरे । डोटी, डडेल्धुरा, बझाङ लगायत विभिन्न क्षेत्रबाट झरेका परिवारले झाडी र वन फाँडेर ओलानीमा आवादी गरे । अहिले ओलानी क्षेत्रमा गोदावरी नगरपालिकाका १०, ११ र १२ नम्बर वडा पर्छन ।
कैलाली÷कञ्चनपुरमा सबै भन्दा बढी बस्न लायक र सुविधाजनक ठाउँका रुपमा त्यतिबेला ओलानीलाई लिने गरिन्थ्यो । त्यसैले पनि पहाडबाट तराई झरेकाहरुले ओलानीलाई नै बासस्थान बनाए । उतिबेला सुविधाजनक ठानिएको ठाउँ समय परिवर्तन सँगै अहिले भने अभावले घेरिएको छ । त्यतिखेरका मानिसहरुलाई बनजंगल र पानिको सुविधा भए पुग्थ्यो । त्यतिबेला पानीको राम्रै सुविधा र वनजंगल पर्याप्त भएकाले पनि सो ठाउँ अन्य भन्दा सुविधाजनक रुपमा नागरिकले लिएका थिए । तर समय परिवर्तन सँगै आवश्यकताहरु बढ्दै जाँदा अहिले ओलानी कैलालीकै विकट क्षेत्रका रुपमा चिनिन थालेको छ ।


अहिलेको अनिवार्य आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका अन्य भौतिक पुर्वाधारहरुको अभाव ओलानीमा खड्कीन्छ । ओलानीमा शिक्षाका लागि सरकारी स्कुलहरु छन, स्वास्थ्यका लागि स्वास्थ्य चौकी छ । तर ति शिक्षा दिने विद्यालयहरुको गुणस्तरमा प्रश्न उठ्ने गर्छ, ति स्वास्थ्य चौकीहरुमा दरबन्दीका कर्मचारी र भौतिक उपकरणहरुको अभाव छ । ओलानीमा हाल सबै भन्दा ठूलो समस्याको रुपमा भने खानेपानी देखिएको छ । कुवाँको पानि खादै आएका स्थानीयहरु खडेरीले पानीका मुहान सुक्न थालेपछि समस्यामा परेका छन । कुवाँमा कुहिएका किरा फट्याङ्ग्रा, भ्यागुताहरु फालेर पानि खानुपर्ने अवस्था छ ।
ओलानीलाई बजारसँग जोड्ने एकमात्रै चौकिडाँडा फल्टुडे नाम दिईएको सडक निर्माणको क्रममा छ । लामो समय पछि अहिले सो सडकको निर्माण कार्य भैरहेको छ । यद्दपी त्यसको पुर्णतामा अझै बजेट आवश्यक पर्ने बताईदै आएको छ । उक्त सडक खण्डको निर्माण मात्रैले पनि ओलानीलाई विकटबाट केही सुगम तिर लैजान सक्ने देखिन्छ ।
स्थानीय सरकार आएको ७ वर्ष बित्नै लागेको छ । स्थानीयका समस्या समाधान गर्नुपर्ने स्थानीय सरकारले पनि ओलानीलाई विकासको मुख देखाउन सकेको छैन । ओलानीका बासिन्दाहरुलाई खानेपानीका लागि ट्यांकीहरुको निर्माण गरेपनि त्यसको विश्वनियता कति छ भन्ने एकिन छैन । ट्यांकीमा जम्मा गर्नुपर्ने पानीको स्रोत समेत भरपर्दाे बनेको छैन । त्यसैले पनि कुन समयमा खानेपानीको हाहाकार हुन्छ भन्ने चिन्तामा अझै पनि ओलानीबासी छन ।
ओलानी गोदावरी नगरपालिकाको सम्भवतः पुरानो बस्ती हो । यो वस्तीको संरक्षण र यहाँका नागरिकहरुको समस्या समाधानमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्दछ । त्यसका लागि नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले सर्वप्रथम पहलकदमी गर्नुपर्दछ । ओलानीलाई समयानुसार विकसीत बनाउदै लैजाने कार्य गरिनुपर्दछ ।

















