बुधबार कैलालीको धनगढीका एक व्यापारीले आफ्नै ५ तले घरको छतबाट हाम फाले । तत्कालिन समयमा गम्भीर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भयो । आफ्नै छतबाट उनले हाम फालेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती फैलिएको छ । हाम फालेको भिडियोले समाजमा कस्तो प्रभाव पर्छ भन्ने समेत ध्यानमा नराखी उक्त भिडियो सार्वजनिक गरिएको छ ।
अहिले समाज परिवर्तनसँगै मानिसहरुमा सूचना प्रविधिको प्रभाव परेको छ । सामाजिक सञ्जालमा राखिएका भिडियोहरु एकाएक भाईरल हुने गर्दछन । ति भाईरल भिडियोले प्रत्यक्ष रुपमा समाजमा असर गरिरहेको हुन्छ । त्यसैले सामाजिक सञ्जालमा हालिने भिडियोहरु समाजमैत्री बन्न आवश्यक छ । तर आत्महत्या गरेका भिडियोहरु सामाजिक सञ्जालमा भाईरल गरिदा त्यसले समाजमा नकारात्मक प्रभाव पर्न जान्छ । त्यस्ता भिडियोले समाजमा आत्महत्याका घटनाहरुलाई प्रशय दिईरहेको पाईन्छ । भिडियोहरु हेरेर र भाईरल हुने होडबाजीमा समेत कयौँ पटक त्यस्ता घटनाहरु घट्न सक्दछन् । सामाजिक सञ्जालको संवेदनशिलता कायम नगरिदा पछिल्लो समय त्यसले समाजमा नराम्रो प्रभाव पारिरहेको छ ।


प्रायजसो मानिसहरु मानसिक रुपमा समस्यामा हुँदा, आफूले सोचेको काममा सफलता नपाउदा, पढाईमा सफल नहुँदा, व्यापारमा घाटा हुँदा, घरेलु हिंसा लगायतका घटनाबाट आत्महत्या गर्न प्रेरित बन्दछन । समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, जसको मुख्य कारकका रुपमा सामाजिक सञ्जाल पनि देखिएको छ । सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक गरी दुई ओटा पक्षहरु छन । एकातिर सामाजिक सञ्जालको माध्यमबाट सूचना प्रविधिको क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु सकारात्मक पक्ष हो भने अर्काे तर्फ सोही सामाजिक सञ्जाल कसैले कसैको मानहानी या बेईज्जत गर्ने तथा आत्महत्या दुरुत्साहन गर्न खोज्ने माध्यमका रुपमा स्थापित हुनु नकारात्मक पक्ष हो ।
आत्महत्या गरिरहेको भिडियोले अर्कालाई पनि आत्महत्या गर्न प्रेरित गरेको हुन सक्छ भन्ने संवेदनशिलता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा हराउदै गएको छ । त्यसमा पछिल्लो समय केही मिडियाहरु पनि देखिएका छन । आफ्नो मिडियाको बढी प्रचार गर्नका लागि कतिपय मिडियाकर्मीहरुले संवेदनशिलताको समेत ख्याल नगरी त्यस्ता कुकृतहरु गरेको पाईन्छ । आफ्नो सानो गल्तीले कसैलाई आत्महत्या गर्न उत्प्रेरित गरिरहेको छ भन्ने अझै पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बुझ्न सकेका छैनन्, या भनौ बुझेर पनि लागु गरिरहेका छैनन् ।
सामाजिक सञ्जाल सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप हो । हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सकेको छ । जसलाई सामाजिक सञ्जालको एउटा सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । तर त्यसैबाट हुने गरेका विकृती र बेथितिहरु भने नियमन हुन सकिएका छैनन् । भाईरल हुने प्रवृत्ति बढ्दै जाँदा नै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गईरहेको अवस्था छ ।
त्यसैले कसैले सामाजिक सञ्जालमा पोष्ट गर्ने एउटा सानो कुराले पनि कसैलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुनसक्दछ भन्ने कुरा बुझ्न जरुरी छ । सामाजिक सञ्जाल सूचनाको सही आदान प्रदान गर्ने थलोका रुपमा विस्तार गर्न आवश्यक छ । यसमार्फत कसैलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने, गालिगलौज गर्ने, बेईज्जती गर्ने लगायतका कार्यहरु गरिनुहुदैन । संवेदनशिलतालाई ध्यानमा राखि प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्न आवश्यक छ ।

















