अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि आज (शनिबार) निर्वाचन हुँदै छ । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि पाँच बर्ष पछि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।
मतदान दुर्गालक्ष्मी नमुना माविको प्राङ्गणमा हुनेछ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन । संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २÷२ जनाले उम्मेदवारी दिएका छन ।

त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा कल्याण सिह बोहरा, मिना देउवाले प्यानल सहित चुनावी मैदानमा छन भने कवि राज भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन । अध्यक्षका उम्मेदवार बोहरा र भट्ट हालको समितिमा उपाध्यक्ष हुन भने देउवा सदस्य रहेकी छिन ।

बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशी (उद्योग) उपाध्यक्षमा देव राज भट्ट (बाणिज्य) र चेतराज पन्त (बस्तुगत), महासचिबमा संकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी, सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदासकर, बम बहादुर बोगटीले उम्मेदवार रहेका छन ।
त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा (उद्योग) दलबहादुर खड्का, फागुराम चौधरी (बाणिज्य) र लक्ष्मण धामी (बस्तुगत), महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट, सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँदले उम्मेदवार रहेका छन । अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता रहेका छन ।
विधान अनुसार प्रत्येक २ बर्षमा हुनुपर्ने उद्योग बाणिज्य संघको निर्वाचन कोरोना लगायतका कारणले ५ बर्षदेखि हुन सकेको थिएन । लामो समय सम्म साधारण सभा र अघिवेसन नगरेको भन्दै यसअघि चर्को विरोध समेत हुँदै आएको थियो । यसअघि २०७५ मा भएको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस प्यानलबाट असोक राज देवकोटा र एमालेको प्यानलबाट टिकाराम आचार्य चुनावी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाएर विजयी भएका थिए भने आचार्यले २ सय ३० मत पाएका थिए ।
यसअघिका निर्वाचनमा नेतृत्वको लागि अत्तरिया उद्योग बाणिज्य संघमा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिप्रर्धा हुने गरेकोमा यस पटक भने कांग्रेस कै नेताहरु ३ खेमामा विभाजित भएर चुनाव लडिरहेका छन् । २०७१ सालमा स्थापना भएको अत्तरिया उद्योग बाणिज्य संघको सस्थापक अध्यक्षका रुपमा २ पटक बसन्त रोकायाले नेतृत्व गरेका थिए ।


















