कैलाली – कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान कैलारी गाउँपालिका–५ बड्कीपलियाबाट २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरीलाई ब्राउनसुगर जस्तो देखिने १८० मिलिग्राम पदार्थ तथा चरेस जस्तो देखिने ५ ग्राम ९९० मिलिग्राम कालो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।


त्यसैगरी, सोही दिन दिउँसो कैलारी गाउँपालिका–५ बड्कीपलियाकै २१ वर्षीय निराजन चौधरीलाई ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, लम्कीचुहा नगरपालिका–८ मालभंगाबाट १५ वर्षीय एक किशोरलाई ६६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मंगलबार साँझ पक्राउ गरिएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















