अत्तरिया – कञ्चनपुरको बेलौरी नगरपालिका – ८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीको गोदावरीका २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ का २५ वर्षीय प्रकाश साउँद र २२ वर्षीय छबि साउँद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।

प्रहरीले उनीहरूबाट लागूऔषधसँगै एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















