प्रा.डा. मुकुन्द कलौनी
जहिले पनि असोज ८ गते मलाई पाटन बहुमुखी क्याम्पस, बैतडीको इतिहासको सम्झना आइरहेको हुन्छ । मैले धेरैपटक त्यहाँका पालोपालोले हुने क्याम्पस प्रमुखहरू र सरहरुलाई सम्झना गराउँदै आएको छु । तर उहाँहरु बिर्सिनुहुन्छ सायद। अन्य शिक्षक र विद्यार्थीहरू त्यो बेलाका छैनन् पनि तर क्याम्पस प्रमुख र अन्य जिम्मेवार व्यक्तिहरुले आफ्नो संस्थाको बारेमा चासो राख्नै पर्ने हो ।

सुदूरपश्चिमका विद्यार्थीहरू परम्परागत रूपले भारतको उत्तराखण्ड प्रदेशमा अध्ययन गर्न जाने गर्दथे, हाल पनि जान्छन् । तर त्यो बेला उच्च शिक्षाको लागि करिब ९०% भन्दा बढी युवाहरू उतै नै अध्ययन गर्दथे । गाउँघरभन्दा टाढा, भाषा र अर्थ समस्या आदिले उनीहरू धेरै दिगदारी अनुभव गर्दथे । सुदूरपश्चिमका अन्य क्षेत्रहरूका व्यक्तिहरू जस्तै पाटन क्षेत्रका व्यक्तिहरु पनि आफ्नै ठाउँमा एउटा क्याम्पसको स्थापना गरेर आफ्ना बालबालिकाहरूलाई त्यही पढ्न पाएपछि हुन्थ्यो भन्ने प्रबल इच्छा राख्दथे । यसको लागि धेरै पहिलेदेखि प्रयास भइरहेका थिए तर २०४१– ४२ सालदेखि यस्तो मागले जोड गर्यो ।
क्याम्पस स्थापनाको लागि जग्गाको खासै समस्या थिएन ।
मैतड, पाटन, उदयदेव मन्दिरका पण्डाजीको परिवारले श्रीकृष्ण माध्यमिक विद्यालय पाटनलाई विद्यालय स्थापनाको लागि जग्गा प्रदान गरेको थियो । त्यही जग्गाको एउटा हिस्सामा क्याम्पस स्थापना गर्ने कुरा भएको थियो । मुख्य समस्या उच्च शिक्षित व्यक्तिहरूको अभाव थियो । श्रीकृष्ण माविपाटनमा मैले २०४५ सालदेखि अध्यापन सुरु गरेको थिए र त्यसपछि त्यहीका शिक्षक रणबहादुर चन्दजी अर्थशास्त्र विषयमा एमए गर्दै हुनुहुन्थ्यो । हामी दुईजना शिक्षक रूपमा हामी उपलब्ध हुने भयौँ । क्याम्पस स्थापनाको लागि एउटा समितिको गठन गरियो । सायद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर चन्दजीको अध्यक्षतामा त्यो समिति बनेको थियो । समितिको माध्यमले अन्य व्यक्तिहरू क्याम्पस स्थापनाको लागि सक्रिय भए । मेरो सम्झना अनुसार केन्द्रमा लोकेन्द्रबहादुर चन्दजी प्रधानमन्त्री हुनुहुन्थ्यो र लक्ष्मण सिंह भण्डारी ज्यू माननीय हुनुहुन्थ्यो ।

उहाँहरू लगायत केही व्यक्तिहरू केन्द्रीय स्तरबाट सक्रिय भए र हामीहरु पाटनमा जिल्लास्तरीय आधारमा काम गर्न थाल्यो । त्यहाँ सक्रिय रुपले अथवा भनौ संस्थापकको रुपमा श्रीकृष्ण माविपाटनका तत्कालीन प्रधानाध्यापक शिवदत्त जोशीजी, केशवबहादुर चन्दजी, उदयदेव मन्दिरका पुजारी किशनदत्त जोशीजी, विष्णुदत्त जोशीजी, श्रीकृष्ण माविका तत्कालीन शिक्षक नन्दसिंह भण्डारीजी पृथ्वीराज अवस्थीजी र रौलेश्वर बाबा भनेर सुपरिचित एकजना युवा महात्मा लगायतका अनेकन व्यक्तिहरू क्याम्पस स्थापना कार्यको लागि रात दिन खटिन थाले । प्रारम्भिक अवस्थामा म मात्र एकजना स्नातकोत्तर व्यक्ति भएकोले मेरो पनि धेरै जिम्मेवारी थियो । केशवजीले मलाई त्यो क्षेत्र का कक्षा १० उत्तीर्ण विद्यार्थीहरूको नाम संकलन, फार्म जम्मा गर्ने र यस्तै अन्य धेरै जिम्मेवारी दिनुभयो । म, नन्दसिंह सर र प्रताप भट्ट सर आदिले ८० भन्दा बढी फारम सङ्कलन गर्यौ, गाउँ गाउँ घुम्यो । धेरै मेहनत भयो । ती फारमहरुलाई लगेर केशवजी पछि काठमाडौँ जानुभयो क्याम्पस स्वीकृतिको लागि । केन्द्रीय स्तरका नेताहरूसँगै स्थानीय नेताहरू र बुद्धिजीवीहरू अथक रूपले त्यस कार्यमा खटिए ।
थुप्रै व्यक्तिहरू थिए, अहिले मसँग अभिलेख छैन । त्यो बेलामा डायरीमा पनि नोट गरेको थिएन । धेरै नाम छुटेका होलान् । बैतडी पाटन बहुमुखी क्याम्पस भनेर मानविकी तथा सामाजिकशास्त्र संकाय भनेर स्वीकृति प्रदान भयो । विद्यार्थी भर्ना ग¥यौं । एक प्रकारले म अघोषित रूपले क्याम्पसको समन्वयकर्ता, क्याम्पस प्रमुख आदि जेजे गर्न सकिन्थ्यो, ती सबै काम गर्न थाले । २२ – २३ वर्ष मेरो पनि उमेर, विवाह पनि भएको थिएन, त्यस्तो केही जिम्मेवारी थिएन । खुब समय दियौं ।
२०४२ साल असोज ८ गते श्रीकृष्ण माविको कक्षा १० पढाइ हुने ठूलो कोठामा उपलब्ध व्यक्तिहरू र नयाँ विद्यार्थीहरूको भेलामा कक्षा ११ का विद्यार्थीहरूको मेरोद्वारा हाजिरी लगाउने कार्य हुँदा आदरणीय पण्डा कृष्णदत्त जोशीजीद्वारा शंखध्वनि गरियो । क्याम्पसको उद्घाटन गरियो । यसरी क्याम्पसमा २०४२ साल असोज ८ गतेदेखि २०४५ चैत्रसम्म पढाइयो पनि । हामीहरू क्याम्पसको आर्थिक फन्डको लागि बजार र गाउँ क्षेत्रहरूमा होली, तिहार आदि कार्यक्रमहरूमा क्याम्पसको लागि चन्दा मागेर म गर्दथ्यौँ ।
यसरी क्याम्पसको स्थापना दिवस २०४२ साल आश्विन ८ गते नै हो । क्याम्पसले आफ्नो वार्षिकोत्सव अश्विन ८ गते नै मनाउनुपर्ने हो । प्रारम्भिक विद्यार्थीमा लक्ष्मीदत्त पाण्डेय पनि हुनुहुन्थ्यो, हाल उहाँ त्यहाँका शिक्षक र अधिवक्ता पनि हुनुहुन्छ । यस्ता पुराना विद्यार्थीहरू र त्यहाँका स्थानीय तत्कालीन व्यक्तित्वहरूले क्याम्पस परिवारलाई घचघच्याउनुपर्ने हुन्छ, सहयोग गर्नुपर्ने हुन्छ, निगरानी पनि गर्नुपर्ने हुन्छ । जस्तो स्तरको क्याम्पसको हामीले त्यो बेला कल्पना गरेका थियौं, के त्यसको अनुरूप त्यो भएको छ अथवा छैन त्यसको मूल्याङ्कन पनि गर्नुपर्दछ । क्याम्पसको एउटा संस्थापकका नाताले मेरो त्यो संस्थाप्रति एउटा मातृत्व भाव रहेको हुन्छ । सन्दर्भवश म भनौ कि त्यो क्याम्पसका प्रारम्भिक शिक्षकहरूमा संस्थापकहरू जस्तै महत्वपूर्ण भूमिका रणबहादुर चन्द्र सर, खेमराज पनेरु सर, लखनौबाट आएका चन्द्रशेखर जोशी, गंगोलिघाट, पिथौरागढका केवला नन्द पन्त सर आदिको पनि रहेको छ । त्यसपछि अन्यन्य सरहरू पनि आउँदै जाँदै गरे ।
मैले मेरो सम्झनालाई याद भएसम्म लिपिबद्ध गरेर पोष्ट गरे । क्याम्पसले यसको बारेमा अभिलेखीकरण कार्य पनि गर्नुपर्दछ । र हाम्रो सहयोग चाहियो भने हामी गर्छौं । म यस क्याम्पसको सधैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

















