बम बहादुर बोगटी/ नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासमा अनेकौँ आरोह अवरोह आए । संघर्षका कठिन दिनहरू आए, चुनौतीहरू आए, विभाजन र मतभेदका अवस्था पनि आए । तर हरेक कठिन परिस्थितिबाट कांग्रेस पुनः एकताबद्ध भएर अघि बढेको इतिहास हामीसँग छ । आज फेरि नेपाली कांग्रेसभित्र देखिएको अन्योल, आपसी दूरी र विभाजनको वातावरणले एउटा सामान्य कांग्रेस कार्यकर्ताको मनलाई गहिरो रूपमा दुखाएको छ ।
हामीले कांग्रेसलाई पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि माया गरेका होइनौँ । लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र जनताको अधिकारका लागि कांग्रेसले पुस्तौँदेखि गरेको संघर्ष र योगदानप्रतिको विश्वासका कारण हामी कांग्रेससँग जोडिएका हौँ । त्यसैले कांग्रेस कमजोर भएको देख्दा त्यसको पीडा केवल नेताहरूलाई होइन, गाउँ गाउँमा बसेर पार्टीको झण्डा बोकेका सामान्य कार्यकर्ताको मनमा पनि उत्तिकै हुन्छ ।

तर आजको चिन्ता केवल पार्टी कमजोर भयो भन्नेमा सीमित छैन । कांग्रेस कमजोर हुनु भनेको देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने एउटा प्रमुख लोकतान्त्रिक शक्तिको क्षमता कमजोर हुनु पनि हो ।
नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । राजनीतिक परिवर्तनदेखि लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको संरक्षणसम्म कांग्रेसले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । यही इतिहास र योगदानका कारण नेपाली कांग्रेसप्रति देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय लोकतान्त्रिक समुदायमा पनि एउटा स्थापित राजनीतिक पहिचान र विश्वास निर्माण भएको छ ।
विश्व राजनीतिमा हरेक दलको आफ्नै इतिहास र योगदान हुन्छ । तर नेपालको सन्दर्भमा लोकतान्त्रिक आन्दोलन र जनअधिकारको संघर्षसँग नेपाली कांग्रेसको इतिहास गहिरोसँग जोडिएको छ । त्यसैले कांग्रेसप्रति नागरिकले राखेको अपेक्षा पनि सामान्य राजनीतिक दलप्रतिको अपेक्षाभन्दा ठूलो छ ।
देश बनाउने जिम्मेवारी कुनै एक दलको मात्र होइन । तर नेपालको लोकतान्त्रिक यात्रामा लामो योगदान गरेको नेपाली कांग्रेसमाथि देश निर्माणमा विशेष जिम्मेवारी र जनअपेक्षा रहनु स्वाभाविक हो ।
आजको चिन्ता केवल पार्टी कमजोर भयो भन्नेमा सीमित छैन । कांग्रेस कमजोर हुनु भनेको देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने एउटा प्रमुख लोकतान्त्रिक शक्तिको क्षमता कमजोर हुनु पनि हो ।
आज नेतृत्व र विभिन्न समूहबीच देखिएको दूरीले कांग्रेसका कार्यकर्तामा चिन्ता र अन्योल पैदा गरेको छ । विचार फरक हुनु स्वाभाविक हो । नेतृत्वका विषयमा प्रतिस्पर्धा हुनु पनि लोकतान्त्रिक अभ्यासकै एउटा पक्ष हो । तर विचार र नेतृत्वको प्रतिस्पर्धा पार्टीलाई नै कमजोर बनाउने दिशामा पुग्नु हुँदैन ।
कांग्रेसको शक्ति केवल नेताहरूमा होइन, यसको इतिहास, विचार, संगठन र लाखौँ कार्यकर्ताको भावनामा छ । अझ महत्वपूर्ण कुरा, कांग्रेससँग जोडिएको लोकतन्त्र र देश निर्माणप्रतिको जनअपेक्षा हो । यही कारण आज सबैभन्दा ठूलो आवश्यकता एक अर्कालाई कमजोर देखाउने होइन, पार्टीलाई बलियो बनाउने हो ।
इतिहासले हामीलाई एउटा कुरा सिकाएको छ ! कठिन परिस्थितिमा कांग्रेस अझ बढी संयमित, जिम्मेवार र एकताबद्ध हुनुपर्छ । त्यसैले अहिले पनि समस्याको समाधान विभाजनमा होइन, संवादमा खोजिनुपर्छ । असहमतिको समाधान आरोप प्रत्यारोपबाट होइन, आपसी विश्वास, आत्मसमीक्षा र सहमतिबाट खोजिनुपर्छ ।

नेतृत्वमा रहेका सबै आदरणीय नेताहरूसँग एउटा सामान्य कार्यकर्ताको विनम्र आग्रह छ
व्यक्ति ठूलो होइन, पार्टी ठूलो हो ।
पद ठूलो होइन, कांग्रेसको इतिहास र भविष्य ठूलो हो ।
गुटभन्दा माथि देश हो व्यक्तिगत स्वार्थभन्दा माथि पार्टी हो ।
आज कार्यकर्तालाई गुटको सन्देश होइन, एकताको सन्देश चाहिएको छ । आरोप प्रत्यारोप होइन आपसी विश्वास चाहिएको छ । व्यक्तिगत प्रतिस्पर्धाभन्दा माथि उठेर कांग्रेसको भविष्य र देशको भविष्यबारे सोच्ने समय आएको छ ।
नयाँ पुस्ताले राजनीतिबाट आशा र विश्वास खोजिरहेको छ । त्यसैले कांग्रेसले आफ्ना कमजोरीमाथि गम्भीर आत्मसमीक्षा गर्दै नयाँ सोच, नयाँ ऊर्जा, पारदर्शिता र लोकतान्त्रिक संस्कारका साथ अघि बढ्न आवश्यक छ । नेतृत्वको बहस र पुस्तान्तरणको विषय पनि पार्टीभित्रै स्वस्थ लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्छ ।
कांग्रेसले आफूभित्रको विवाद समाधान गर्न सक्यो भने मात्र देशका ठूला चुनौतीमा आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्न सक्छ । आर्थिक विकास, रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र युवाको भविष्यजस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित जनताको बीचमा उभिन सक्ने कांग्रेस आजको आवश्यकता हो ।
कांग्रेस टुट्दा सबैभन्दा पहिले पीडा कार्यकर्तालाई हुन्छ । कांग्रेस कमजोर हुँदा त्यसको असर पार्टी संगठनमा मात्र होइन लोकतान्त्रिक अभ्यास र देशको राजनीतिक दिशामा पनि पर्न सक्छ । त्यसैले आजको आवश्यकता कसले जित्यो र कसले हा¥यो भन्ने होइन; कांग्रेस कसरी बलियो हुन्छ र देश निर्माणमा अझ प्रभावकारी कसरी बन्न सक्छ भन्ने प्रश्नको उत्तर खोज्नु हो ।
हामी सबैले विगतका कमजोरीबाट पाठ सिकौँ । असहमति राखौँ, तर सम्बन्ध नतोडौँ । विचारको प्रतिस्पर्धा गरौँ, तर मन नफुटाऔँ । नेतृत्वको बहस गरौँ, तर पार्टीको एकतालाई कमजोर नबनाऔँ ।
अन्तत,
कांग्रेस कुनै एक व्यक्ति, समूह वा पदको नाम होइन । कांग्रेस एउटा लामो संघर्षको इतिहास हो, लोकतान्त्रिक मूल्यको विश्वास हो र लाखौँ कार्यकर्ताको भावना हो । अझ त्यसभन्दा माथि, कांग्रेसप्रति नागरिकले राखेको आशा र देश निर्माणमा उसको भूमिकासँग जोडिएको जिम्मेवारी हो ।
त्यसैले आज फेरि सबै पक्षसँग एउटै आग्रह
कांग्रेस बचाऔँ कांग्रेसलाई एकताबद्ध बनाऔँ ।
विचारको प्रतिस्पर्धा गरौँ तर मन नफुटाऔँ ।
नेतृत्वको बहस गरौँ तर पार्टी नटुटाऔँ ।
आफूलाई होइन कांग्रेसलाई बलियो बनाऔँ ।
कांग्रेसलाई मात्र होइन, कांग्रेसमार्फत देशलाई बलियो बनाऔँ ।
जय नेपाल जय काङ्ग्रेस

















