कैलालीको अत्तरियाबाट एउटा सानो सपना बोकेर सुरु भएको हाम्रो यात्रा आज सफलतापूर्वक छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । समयको हिसाबले यो केवल एउटा वर्ष थपिएको अवसर हुन सक्छ, तर हाम्रो लागि यो विश्वास, संघर्ष, निरन्तरता र जिम्मेवारीको अर्को महत्वपूर्ण अध्याय हो ।
यो अध्यायमा हामी एक्लै छैनौँ; हजारौँ पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी र सम्पूर्ण सुदूरपश्चिमवासीको साथ र विश्वास हामीसँग जोडिएको छ ।

२०७७ साल भदौ १ गते । देश कोरोना महामारीको भयावह चपेटामा थियो । बजार सुनसान थिए, उद्योग–व्यवसाय संकटमा थिए र सञ्चार क्षेत्रसमेत आफ्नो अस्तित्व जोगाउने संघर्षमा थियो । धेरै सञ्चारमाध्यम बन्द भइरहेका थिए । त्यही कठिन समयबीच हामीले एउटा प्रश्न आफैँलाई गरेका थियौँ— ‘संकटको यो घडीमा समाजका आवाज कसले बोल्ने ?, सत्य खबर कसले सुनाउने ?’
त्यही प्रश्नको उत्तर खोज्ने प्रयासबाट हाम्रो यात्रा सुरु भएको थियो ।
स्रोत सीमित थिए, चुनौती असीमित । तर हाम्रो उद्देश्य स्पष्ट थियो—सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजको आवाज बन्ने । यही उद्देश्यलाई आत्मसात् गर्दै हामी अघि बढ्यौँ ।
यात्राका क्रममा आर्थिक कठिनाइ आए, विज्ञापनको अभाव भयो, प्राविधिक समस्या आए, आलोचना खेप्नुप¥यो र कतिपय अवस्थामा निराशाका क्षण पनि आए । तर एउटा कुरा कहिल्यै कमजोर भएन— पाठकको विश्वास । हाम्रो निरन्तरताको वास्तविक शक्ति त्यही विश्वास थियो, आज पनि त्यही हो र भोलि पनि त्यही रहनेछ ।
छ वर्षको यात्रामा हामीले केवल समाचार छापेनौँ । समाजका प्रश्न उठायौँ, आवाजविहीनका आवाजलाई स्थान दियौँ, विकृति र विसंगतिमाथि प्रश्न ग¥यौँ र सम्भव भएसम्म सत्यको पक्षमा उभिने प्रयास ग¥यौँ । स्थानीय तहका साना–साना विषयदेखि प्रदेश र राष्ट्रिय सरोकारका महत्वपूर्ण मुद्दासम्मलाई पाठकसमक्ष पु¥याउने हाम्रो प्रयास निरन्तर रह्यो र आगामी दिनमा पनि रहनेछ ।

हामीलाई थाहा छ—पत्रकारिता सहज यात्रा होइन । सत्य लेख्दा प्रश्न उठ्न सक्छन्, तथ्य प्रस्तुत गर्दा असन्तुष्टि जन्मिन सक्छ । तर पत्रकारिताको वास्तविक परीक्षा त्यहीँ हुन्छ, जहाँ सहज बाटो छोडेर सत्यको पक्षमा उभिनुपर्ने हुन्छ । यसर्थ, हाम्रो मूल नारा ‘सत्य र निष्पक्ष खबरको संवाहक’ केवल प्रकाशनको परिचय होइन, हाम्रो पत्रकारिताको मूल दर्शन हो । कुनै दबाब, प्रभाव, आग्रह वा पूर्वाग्रहबाट निर्देशित नभई तथ्यमा आधारित, जनपक्षीय र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ ।
समय बदलिएको छ । पाठकको रुचि बदलिएको छ । सूचना प्राप्त गर्ने माध्यम बदलिएको छ । पत्रकारिता पनि छापिएको कागजको सीमाबाट बाहिर निस्केर डिजिटल संसारमा अझ तीव्र गतिमा फैलिएको छ । तर प्रविधिले समाचारको गति बढाए पनि पत्रकारिताको मूल आधार बदलिएको छैन—तथ्य, सत्य र विश्वसनीयता । त्यसैले अबको हाम्रो यात्रा अझ आधुनिक, प्रविधिमैत्री र पाठकमैत्री हुनेछ । प्रिन्ट संस्करणको गुणस्तरलाई थप मजबुत बनाउँदै डिजिटल पत्रकारितालाई प्रभावकारी बनाउने, नयाँ पुस्तालाई पत्रकारितासँग जोड्ने, नागरिकका प्रश्नलाई प्राथमिकतामा राख्ने र स्थानीय मुद्दालाई प्रदेश तथा राष्ट्रिय बहससम्म पु¥याउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ ।
हामी मान्छौँ—एउटा सञ्चारमाध्यम कुनै व्यक्ति, संस्था वा समूहको मात्र सम्पत्ति होइन । यो समाजको ऐना हो, नागरिकको साझा चौतारी हो र समयको जीवित दस्तावेज हो । त्यसैले हाम्रो पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र प्रभावकारी बनाउन पाठकका सुझाव, आलोचना र मार्गदर्शनलाई हामी सधैँ सम्मानका साथ ग्रहण गर्नेछौँ ।
आज सातौँ वर्षमा प्रवेश गर्दै गर्दा हामी विगतलाई सम्झेर गर्व मात्र गरिरहेका छैनौँ; आगामी दिनको जिम्मेवारीलाई अझ गम्भीरताका साथ महसुस गरिरहेका छौँ । हिजोको संघर्षले हामीलाई बलियो बनाएको छ, आजको विश्वासले हामीलाई ऊर्जा दिएको छ र भोलिको यात्राले अझ ठूलो जिम्मेवारी बोकेको छ ।
हामीसँग ठूला स्रोत नहुन सक्छन् । भव्य संरचना नहुन सक्छ । तर हामीसँग एउटा यस्तो सम्पत्ति छ, जसको मूल्य कुनै अंकमा मापन गर्न सकिँदैन—हजुरहरूको विश्वास । यही विश्वास हाम्रो पुँजी हो, यही विश्वास हाम्रो शक्ति हो र यही विश्वासलाई साथमा लिएर हामी अझ लामो यात्रातर्फ अघि बढिरहेका छौँ । समाजका वास्तविक मुद्दा, नागरिकका सुख–दुःख र जनताको आवाजलाई केन्द्रमा राख्दै सत्यको पक्षमा, निष्पक्षताको बाटोमा र जिम्मेवारीका साथ हाम्रो यात्रा निरन्तर अघि बढिरहनेछ ।
छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्ने यस गौरवपूर्ण अवसरमा हाम्रो यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी, पत्रकार, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
धन्यवाद !

















