खाेज्नुहाेस

बझाङमा सुर्मादेवी (शिलदेवी) मेला सुरु

Image

बझाङ– बझाङमा सुर्मादेवी (शिलदेवी) मेला सुरु भएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सुर्मादेवी मेला सोमबारदेखी सुरु भएको हो । चैनपुरस्थित ठूला गडामा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै महरले शिलदेवी मेला सिंगो बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको मौलिकता, अस्तित्व र महत्व जोगाउन सबैले पहल गर्नुपर्ने बताए । मेलाले जिल्लावासीबीच सामाजिक एकता, आपसी सद्भाव र भेटघाटको अवसर सिर्जना गर्ने उनले बताए ।

attariya hospital

‘परापूर्वकालदेखि शिलदेवीको पूजा गर्ने, देश–विदेशबाट घर फर्किएकाहरू भेटघाट गर्ने र आपसी सद्भाव साटासाट गर्ने अवसरका रूपमा मेलालाई लिने गरिएको छ । मेलाको महत्व कतै ओझेलमा परेको त छैन भन्ने भान भएको छ । यसको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्छ,’ उनले भने । खेलकुदका माध्यमबाट मेलामा थप उत्साह थपिएको उल्लेख गर्दै महरले राम्रा काममा प्रतिस्पर्धा गर्न र नकारात्मक पक्ष हटाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।

navjiwan hospital

कार्यक्रममा संविधानसभा सदस्य अफिलाल ओखेडाले बझाङमा अपेक्षाअनुसार सबै काम नभए पनि भएका प्रयास र उपलब्धिलाई बेवास्ता गर्न नहुने बताए । जिल्लामा विकास निर्माणका काम नभएको भाष्य निर्माण भइरहेको उल्लेख गर्दै उनले खेलमैदान र कभर्डहल निर्माणका लागि समेत प्रयास भइरहेको जानकारी दिए ।

मेलाको अवसरमा पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र देउडा कार्यक्रम आयोजना गरिएको छ । आयोजकका अनुसार मेलाअन्तर्गत धार्मिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनेछन् ।

राजा गजराजको पालादेखि सुरु भएको मानिने यस मेलालाई बझाङको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा लिने गरिन्छ । मेलाले स्थानीय कला र संस्कृतिको संरक्षणसँगै खेलकुदको विकास, सामाजिक सद्भाव र धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सुर्मादेवी मेला व्यवस्थापन समितिका अध्यक्ष सर्जनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउनेलगायतको उपस्थिति थियो ।