काठमाडौँ । फोन हाम्रो दैनिक जीवनको आवश्यकता बनिसकेको छ । बिहान उठेदेखि राति नसुत्दासम्म हामी फोन चलाइरहन्छौं । ब्याट्री छिटै सकिएर दिनमा एक वा दुई पटक पनि फोन चार्ज गछौं । तर यसलाई चार्ज गर्दा हामी प्रायः धेरै गल्ती गर्छौं । यस्ता गल्तीमाथि हामी खासै ध्यान दिदैनौं । जसका कारण कहिलेकाहीँ हामीले ठुलो मूल्य चुकाउनुपर्छ ।
सस्तो चार्जिङ केबलको प्रयोग

तपाईंको फोनमा चार्जिङ केबल लाग्यो भन्दैमा यो राम्रो छ भन्ने हुन्न । खराब वा क्षतिग्रस्त केबलले चार्जिङमा समस्या निम्त्याउन सक्छ । गुगलले फोनसँगै आएको केबल वा भरपर्दो र मानक केबल प्रयोग गर्न पनि भन्छ । तार काटिएको छ, तारहरू बाहिर देखिएका छन् वा कनेक्टर बिग्रिएको छ भने यसलाई प्रयोग गर्नु हुँदैन । विशेष गरी फास्ट चार्जिङ भएका फोनमा आवश्यकता अनुसार चार्जिङ क्षमता नभएका यस्ता तार प्रयोग गर्नु हुँदैन ।
तातिरहेको बेलामा फोन चार्ज
चार्जिङको क्रममा फोन अलिकति तातो हुनु त ठीक हो । तर फोन धेरै तातिरहेको छ भने, यसलाई बेवास्ता गर्नु हुँदैन । एप्पलका अनुसार, अत्यधिक तापक्रमले केही फोनका फङशनहरू अस्थायी रूपमा रोक्न सक्छ, र अत्यधिक गर्मीले लामो समयसम्म ब्याट्रीको आयुलाई असर गर्न सक्छ । फोन धेरै तातो भयो भने यसलाई चिसो ठाउँमा राख्नुहोस् र आवश्यक प¥यो भने केहीबेर चार्ज गर्न बन्द गर्नुहोस् ।
तकिया वा कम्बलमुनि नराख्ने
यो बानी खतरनाक पनि हुन सक्छ । चार्ज गर्दा फोन र चार्जर दुवैबाट तातो उत्पन्न हुन्छ । तपाईंले फोनलाई तकिया, कम्बल मुनि वा कम हावा चल्ने ठाउँमा राख्नु भयो भने गर्मी बाहिर निस्कन सक्दैन । अनि फोन झनै तात्छ । एप्पल र गुगल दुवैले फोनलाई चार्ज गर्दा राम्रो हावा चल्ने ठाउँमा राख्न भन्छन् । रातमा चार्ज गर्दा धेरै फोनलाई ओछ्यानमा थिचेर वा तकिया मुनि राखेर चार्ज गर्छन् । तपाईं पनि यस्तै गर्नुहुन्छ भने यस्तो कामलाई तत्कालै बन्द गर्नुहोस् ।

पोर्टमा पानी पस्दा पनि चार्ज नगर्ने
यो गल्ती त झनै गर्नु हुन्न । फोनको चार्जिङ पोर्टमा पानी वा ओसिलोपन छ भने प्लग इन गर्दा मात्रै पनि समस्या हुन सक्छ । गुगलका अनुसार, यदि फोन वा चार्जिङ पोर्टमा ओसिलोपन छ भने चार्जबाट हटाउनुहोस् र फोन सुक्न दिनुहोस् । एप्पलले पनि भिजेपछि फोन चार्ज नगर्न पनि सल्लाह दिएको छ । तपाईंको फोन भिजेको छ भने यसलाई छिटै सुकाउन हेयर ड्रायर वा बाहिरको कुनै तातो हावाको प्रयोग नगर्नुहोस् । गुगलले भिजेको फोन सुकाउन यस्तो काम सिफारिस गर्दैन ।
खुकुलो चार्जिङ पोर्टलाई बेवास्ता नगर्ने
चार्ज गर्दा केबल बारम्बार बाहिर आउँछ वा थोरै हलचलमा पनि रोकिन्छ भने यसलाई सामान्य हो भनेर नसोच्नुस् । चार्जिङ पोर्टमा धुलो वा फोहोर पनि यसको कारण हुन सक्छ । गुगलका अनुसार, यदि पोर्टमा केही अड्किएको छ भने, भित्र तिखो चिज घुसाएर फोहोर हटाउने प्रयास नगर्नुहोस् । यदि पोर्ट जलेको, पग्लिएको वा बिग्रिएको देखिएको छ भने यसलाई प्रयोग गर्नुको सट्टा आधिकारिक सेवा केन्द्रबाट जाँच गराउनु राम्रो हुन्छ ।
चार्जर वा फोनलाई तातो वा घमाइलो ठाउँमा नछोड्ने
तातो कोठामा वा प्रत्यक्ष घाममा चार्ज गर्न पनि सिफारिस गरिँदैन । एप्पलका अनुसार, अत्यधिक तापक्रमले फोनको कार्यक्षमता परिवर्तन गर्न सक्छ, र अत्यधिक गर्मीले लामो समयसम्म ब्याट्रीको आयु घटाउन सक्छ । त्यसकारण, कारको ड्यासबोर्डमा, झ्यालको नजिक, प्रत्यक्ष घाममा, वा कुनै पनि तातो उपकरणको नजिक आफ्नो फोन सकेसम्म चार्ज गर्नु हुँदैन ।
रातभर फोन चार्ज नगर्ने
अहिले धेरैजसो स्मार्टफोनहरूले आफ्नो चार्जिङ आफैं व्यवस्थापन गर्छन् र ब्याट्री भरिएको बेला चार्ज गर्न बन्द गर्छन् । त्यसैले, फोन रातभर चार्ज गर्दा तुरुन्तै क्षति हुन्छ भनेर भन्नु पूर्ण रूपमा सही होइन । यद्यपि, लामो समयसम्म तातो क्षेत्रमा तपाईंको फोन चार्ज गर्नु पनि ठीक होइन । त्यसैले फोनलाई तपाईंको ओछ्यान वा तकिया मुनि नभई खुला, हावायुक्त क्षेत्रमा चार्ज गर्नु राम्रो हुन्छ ।

















