अत्तरिया– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चाङ्गनका विद्युतीय सवारीसाधनको नयाँ शोरुम उद्घाटन गरिएको छ । धनगढी–१३ राजपुरस्थित ग्लोबल प्रालिले सञ्चालनमा ल्याएको चाङ्गन डीपल शोरुमको सोमबार डा. हेमराज पन्तले रिबन काट्नुका साथै दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
नयाँ शोरुमको उद्घाटनसँगै धनगढी क्षेत्रमा चाङ्गनका डीपल तथा नेभो ब्रान्डका विद्युतीय सवारीसाधनको बिक्री, ग्राहक सेवा र बिक्रीपछिको सेवा थप सहज हुने अपेक्षा गरिएको छ । ग्लोबल प्रालि धनगढी क्षेत्रका लागि चाङ्गनका डीपल तथा नेभो ब्रान्डको आधिकारिक विक्रेता हो ।


स्थानिय युवाद्धय हितेश ओझा र कृष्णदेव उप्रेतीले शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुमको उद्घाटन सँगै चाङ्गनको नयाँ ऊर्जा सवारीसाधन श्रृंखलाअन्तर्गतको नेभो क्यू०५ विद्युतीय एसयूभी पनि सार्वजनिक गरिएको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र आरामदायी यात्रालाई प्राथमिकता दिइएको यस गाडीले सुदूरपश्चिमका ग्राहकलाई विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
नेभो क्यू०५ मा १२० किलोवाट क्षमताको विद्युतीय मोटर र ५१.९ किलोवाट आवर क्षमताको क्याटल लिथियम आइरन फस्फेट ब्याट्री रहेको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ४६२ किलोमिटरसम्मको यात्रा गर्न सक्छ । उपयुक्त चार्जिङ अवस्थामा यसको ब्याट्री १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । गाडीको अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा ५४० लिटर क्षमताको सामान राख्ने स्थान तथा पछाडिका सिट ढल्काउन मिल्ने सुविधासमेत रहेको छ ।
ग्राहकलाई गाडीको विशेषता र कार्यक्षमता प्रत्यक्ष अनुभव गराउने उद्देश्यले धनगढीस्थित डीपल शोरुममा चारदिने टेस्ट ड्राइभ क्याम्पसमेत राखिएको छ । उक्त क्याम्पमार्फत ग्राहकले नेभो क्यू०५ को परीक्षण सवारी गर्न सक्ने कम्पनिले बताएको छ । शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिममा आधुनिक विद्युतीय सवारीसाधनको पहुँच विस्तार हुनुका साथै बिक्री तथा बिक्रीपछिको सेवा स्थानीयस्तरमै प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

















