काठमाडौँ– गुगलले हालै आफ्नो डिजिटल नक्सा ‘गुगल अर्थ’ मा एआईमा आधारित नयाँ क्रियट इमेज’ फिचर सार्वजनिक गरेको थियो । तर व्यापक आलोचनापछि कम्पनीले सार्वजनिक गरेको २४ घण्टामै उक्त फिचर हटाएको छ ।
के थियो फिचर ?

यो फिचरले न्यानो बनाना २ एआई प्रविधि प्रयोग गरी गुगल अर्थका स्याटेलाइट, एरियल र थ्रीडी नक्साका आधारमा कुनै पनि स्थानको नयाँ दृश्य (इमेज) केही सेकेन्डमै तयार गर्न सक्थ्यो। गुगलका अनुसार यसलाई ऐतिहासिक घटनाको दृश्य कल्पना गर्न, रियल इस्टेट योजना तथा अन्य दृश्य सामग्री बनाउन प्रयोग गर्न सकिन्थ्यो ।
किन विवादमा प¥यो ?
फिचर सार्वजनिक भएपछि ओपन–सोर्स इन्टेलिजेन्स विज्ञ, तथ्य–जाँचकर्ता र अनुसन्धानकर्ताले यसको विरोध गरे। उनीहरूको तर्क थियो, गुगल अर्थजस्तो विश्वसनीय प्लाटफर्ममा एआईले वास्तविकजस्तै देखिने नक्कली स्याटलाइट तस्बिर बनाउन थाले गलत सूचना फैलाउन अझ सजिलो हुनेछ ।
डिजिटल अनुसन्धानकर्ता हेन्क भान एसले गुगलले दुई दशकमा बनाएको विश्वसनीय म्यापिङ प्लाटफर्ममा वास्तविकता र काल्पनिक दृश्य मिसाउने सुविधा थपिएको भन्दै आलोचना गरेका थिए ।
कतिपय प्रयोगकर्ताले गुगल अर्थको एआई फिचर प्रयोग गरी पेरिसको आइफेल टावर ध्वस्त भएको, इरानमा आणविक भट्टी केन्द्र रहेको र म्याक्सिको–अमेरिका सीमानामा शरणार्थीको घुँइचो देखिने नक्कली तस्बिर सिर्जना गरेका थिए । कम्पनीको नीति उल्लंघन हुने गरी यसरी तस्बिर जेनेरेट गरिएको भन्दै गुगलले एआई फिचर बहटाएको पेटा पिक्सेलले उल्लेख गरेको छ ।
के थियो मुख्य चिन्ता ?

विशेषज्ञहरूका अनुसार यो फिचरबाट अत्यन्त वास्तविक देखिने नक्कली स्याटलाइट तस्बिर बनाउन सकिन्थ्यो । यसले पत्रकार, अनुसन्धानकर्ता र तथ्य–जाँचकर्ताले वास्तविक दृश्य पुष्टि गर्न पनि कठिन हुने उनीहरूको भनाइ थियो ।
गुगलको प्रतिक्रिया
धेरैले फिचरको सकारात्मक प्रयोग गरे पनि केही प्रयोगकर्ताले कम्पनीको नीतिविपरीत सामग्री बनाउन थालेको गुगलले जनाएको छ । गुगल अर्थप्रतिको विश्वास कायम राख्न पर्याप्त सुरक्षा उपाय लागू नभएसम्म फिचर हटाइएको कम्पनीले स्पष्ट पारेको छ ।
वाटरमार्क पर्याप्त भएन
गुगलले एआईबाट बनेका तस्बिरमा सिन्थ आईडी डिजिटल वाटरमार्क राखिएको जनाएको थियो । तर, सामान्य प्रयोगकर्ताले यस्तो अदृश्य वाटरमार्क छुट्याउन नसक्ने भएकाले दुष्प्रचार रोक्न पर्याप्त नहुने विज्ञहरूले बताएका छन् ।
परीक्षणमा के भेटियो ?
एएफपीको परीक्षणमा उक्त फिचर प्रयोग गरेर पेरिसमा विस्फोट, इरानका आणविक स्थल, रुसमा बमबारी, सिरियामा आतङ्कवादी प्रशिक्षण शिविर, बंगलादेशमा बाढी, अमेरिका–मेक्सिको सीमामा आप्रवासी शिविरलगायतका काल्पनिक तर वास्तविकजस्ता देखिने तस्बिर बनाउन सकिएको थियो ।
यसअघि पनि विवाद
सन् २०२३ मा पेन्टागनमा विस्फोट भएको नक्कली एआई तस्बिर भाइरल हुँदा केही समय अमेरिकी सेयर बजारसमेत प्रभावित भएको थियो । त्यसपछि अमेरिका–इरान तनावका बेला अमेरिकी सैन्य अड्डा ध्वस्त भएको दाबी गर्ने एआई तस्बिर पनि व्यापक रूपमा फैलिएको थियो ।
बढ्दो विरोध र सुरक्षा चिन्तापछि गुगलले गुगल अर्थबाट ’क्रियट इमेज’ फिचर हटाएको छ । कम्पनीका अनुसार दुरुपयोग रोक्ने प्रभावकारी सुरक्षा प्रणाली तयार भएपछि मात्र यसलाई पुनः उपलब्ध गराउने विषयमा निर्णय गरिनेछ ।


















