खाेज्नुहाेस

अनुगमन हैन निर्माणमा तिब्रता देखाउ

Image

कैलालीको अत्तरियामा रहेको कोल्ड स्टोरको बुधबार प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीले अनुगमन गरे । करिब ६ वर्ष अगाडि उक्त कोल्ड स्टोर निर्माणको प्रकृयामा गएको थियो । २०७५ साल पुषतिर कोल्डस्टोरको निर्माण प्रकृया थालेर करिब ६ महिना भित्र नै भौतिक संरचना निर्माणको काम सम्पन्न भैसकेको थियो । तर निर्माण सम्पन्न भएको ६ वर्षसम्म पनि कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । कृषि उपज थोक बजारमा फाउण्डेसन तयार गरिएको भएपनि आवश्यक उपकरण जडान हुन नसक्दा कोल्ड स्टोर संचालनमा आउन ढिलाई भएको छ । आवश्यक उपकरणहरु जडानको जिम्मा पाएको ठेकेदार कम्पनीले आर्थिक कारण देखाएर काम अलपत्र पार्दा भौतिक संरचना निर्माण भैसकेको कोल्ड स्टोर बन्द अवस्थामा छ ।

६ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त कोल्ड स्टोरको प्रदेशका मन्त्रीले अनुगमन गर्दा स्थानियहरुमा केही आशा पक्कै जागेको भएपनि विश्वास भने गर्न सकिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनिले चैत मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेपनि हालसम्मको अवस्था हेर्दा उक्त प्रतिवद्धता पनि बोलीमै सिमित हुने होकी भन्ने आशंका नागरिकमा छ ।

attariya hospital

निजी क्षेत्रको पहलमा कोल्ड स्टोर निर्माण गर्ने भनेर स्थापना थालिएपनि संघीय सरकार मातहतमा रहेको कृषि उपज थोक बजारमा निजी क्षेत्रले लगानी लगाउन नमिल्ने भएपछि सरकारले निर्माणको प्रकृया थालेको थियो । कोल्ड स्टोर निर्माणका लागि कृषि मन्त्रालय मार्फत अर्थ मन्त्रालयले ५० लाख रुपैयाँ, गोदावरी नगरपालिकाले ४५ लाख रुपैया र कृषि बजार व्यवस्थापन समितिले १० लाख रुपैया लगानी लगाएका थिए । उनिहरुकै लगानीमा कोल्ड स्टोर निर्माण प्रकृया अगाडि बढाईएको थियो ।

navjiwan hospital

तर, रकम अपुग भएको भन्दै ठेकेदार कम्पनिले काम अलपत्र छोड्दा हालसम्म पनि उक्त कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । ठेकेदार कम्पनिले काम नगरेको अवस्थामा सरकार भने मौन बसिदिएको छ । करोडौ लगानी लगाईसकिएको कोल्ड स्टोर निर्माण भए किसानहरुले सहज रुपमा कृषिजन्य वस्तुहरु स्टोर गरेर राख्न सक्ने अवस्था हुने थियो । किसानहरुको सहजताका लागि नै कोल्ड स्टोर निर्माणको प्रकृया थालिएको थियो । तर भौतिक संरचना निर्माण भएको ६ वर्षसम्म पनि उपकरणहरु जडान नभएपछि किसानहरु मर्कामा परेका छन ।

कृषि उपज थोक बजार केन्द्रमा हाल भारत लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । प्रदेशकै केन्द्रमा रहेको यो बजारमा कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुल बिग्रने गरेका कारण किसान तथा व्यवसायी ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएका छन । ठेकेदार कम्पनिको लापरबाहीको भागेदार कृषकहरुले बन्नुपरिरहेको अवस्थामा सरकार भने मौन छ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुहरु नै बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था छ ।

त्यसको अन्त्यका लागि स्वदेशमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको सुरक्षित स्टोर अनिवार्य छ । त्यसैले अत्तरिया क्षेत्रमा निर्माण गरिएको कोल्ड स्टोरलाई यथाशिघ्र सञ्चालनमा ल्याउने विषयमा सरकार तदारुक बन्न जरुरी छ । चैत मसान्त सम्म काम गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको ठेकेदार कम्पनिलाई अन्तिम पटक सोही अवधीमा निर्माण सक्ने गरी दवाव दिन पनि सरकारले ढिलाई गर्नुहुदैन ।

सरकारको लाचारीपनकै कारण हालसम्म उक्त कोल्ड स्टोरको सञ्चालन हुन नसकेको जगजाहेर नै छ । अब पनि सरकारले त्यसमा ध्यान दिन नसके सरकारप्रति नागरिक र कृषकहरुको भरोशा टुट्न जानेछ । तसर्थ अनुगमन गर्ने कार्य मात्रै नभई त्यसको पुर्णतः निर्माण सकेर यथाशिघ्र सञ्चालनको प्रकृयामा ल्याउने कार्यमा ढिलाई गरिनुहुदैन ।