खाेज्नुहाेस

तरकारीमा विषादीको प्रयोग रोकौं

Image

तरकारीमा किरा लागेको भन्दै पछिल्लो समय विषादीको प्रयोग गर्ने क्रम बढेको छ । लगाईएका तरकारीहरुमा किराले समस्या निम्त्याउने भन्दै किसानहरुले नै विषादीहरुको प्रयोग गर्ने गरेका छन । शुक्रबार कैलालीको अत्तरियामा रहेको कृषि हाटबजारमा विक्रिका लागि ल्याईएको गोलभेडामा विषादी प्रयोग भएको भेटियो । हाटबजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइमा गरिएको परीक्षणमा कञ्चनपुरबाट आयात गरिएको गोलभेडामा हानिकारक विषादी भेटिएको थियो । परीक्षणका क्रममा उक्त गोलभेडामा अर्गानोफस्फेट ७४.९३ रोकावट प्रतिशत भेटिएको हो । जुन उपभोगका लागि एकदमै हानिकारक हुन्छ । प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समुहका कीटनाशक विषादीको परिक्षण गरिदै आएको छ । उक्त गोलभेडामा कार्बोमेटको ८.९५ रोकावट प्रतिशत भेटिएको थियो ।

तरकारी फलफूलमा ३५ प्रतिशत भन्दा कम विषादीको रोकावट प्रतिशत भेटिएमा खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत सम्म विषादीको रोकावट प्रतिशत भेटिएमा केही दिन भण्डारण गरेर पुनः प्ररिक्षण गरी उपभोग गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन । ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट प्रतिशत भेटिएको तरकारी फलफुल खान अयोग्य (रेड लेवल) हुने भएकाले नष्ट गरिदै आएको छ । शुक्रबार अर्गानोफस्फेट ७४.९३ रोकावट प्रतिशत भेटिएको ५० किलोग्राम गोलभेडा नष्ट गरिएको थियो ।

attariya hospital
navjiwan hospital

विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ अत्तरियामा दैनिक ५ वटा तरकारी तथा फलफूलका नमूनाको विषादी परिक्षण हुँदै आएको छ । जुन नमूना अत्तरियामा रहेको कृषि हाट बजारबाट संकलन गरिदै आएको छ । यसअघि पुष ५ गते साढे ३ क्विन्टल बन्दामा रेड लेवलको विषादी भेटिएपछि नष्ट गरिएको थियो ।

विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियामा चालु आर्थिक वर्षमा गरिएको विषादी परीक्षणमा सुदूरपश्चिमका किसानले उत्पादन गरेका मात्रै ८ तरकारीका नमूनामा हानिकारक विषादीको मात्रा फेला परिसकेको छ । अत्तरिया हाटबजारमा भित्रिएको तरकारीमा पटक पटक विषादीको मात्रा भेटिँदा यसको गम्भिर असर जनस्वास्थ्यमा पर्ने चिन्ता गरिएपनि यसको निराकरणका लागि खासै ठोस पहल भने भएको देखिदैन ।

मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कीटनाशक विषादीको प्रयोगमा न्यूनिकरणका लागि सबैले जागरुक बन्न जरुरी छ । नेपाल सरकारले १६५ प्रकारका विषादीहरु प्रयोग गर्ने अनुमति दिएको छ । तर, ति विषादी प्रयोग गर्दा कति समय सम्म उपभोग नगर्ने भन्ने मापदण्ड छ । त्यसैले सरकारी मापदण्ड अनुसार विषादीहरुको प्रयाग गर्न आवश्यक छ । विषादी युक्त तरकारी प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भिर पर्ने गर्दछ । अर्गानोफस्फोट र कार्बोमेटको एकदमै ठूलो नकारात्मक असर मानव स्वास्थ्य पर्ने भएकाले यसलाई सिरियस्ली रुपमा लिनुपर्दछ ।

कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगको कारण क्यान्सर, शरीरमा हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरू, मिर्गौलासम्बन्धी गम्भीर रोगहरू, छालासम्बन्धी रोग आदि लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । त्यसैले तरकारीजन्य वस्तुहरुमा प्रयोग गरिने विषादीको मात्रामा कमी ल्याउन जरुरी छ । त्यसका लागि कृषि क्षेत्रसँग सम्बन्धीत निकायहरुले पहलकदमी गर्नुपर्दछ भने कृषकहरुले पनि मानव स्वास्थ्यको ख्याल गर्दै त्यस्ता विषादीहरुको प्रयोग गर्नुहुदैन ।