सन्तोष पन्त, कञ्चनपुर – माहाकाली द्वितीय चरण अन्तर्गतको शिवनगर मेन लाइन नहरको सडक मर्मतको काम सुरु गरिएको छ । माहाकाली जल उपभोक्ता केन्द्रिय समितिले बेलडाँडी गाउँपालिका –३ राधाकृष्ण मन्दिर देखि बेलौरी नगरपालिका –१० भुडा सम्म नहरको बाटो मर्मत सुरु गरेको हो ।

करिब ३.५ किलोमिटर नहरमा पर्ने सडक मर्मत नहुदाँ भुडा बैवाह भएर महेन्द्रनगर, बेलौरी धनगढी आवतजावत गर्न स्थानीयलाई निकै सास्ती खेप्नु परेको थियो ।

उक्त सडकमा अहिले करिब ८ लाख भन्दा बढी बजेट सिचाइ कार्यालयले बिनियोजन गरेपछि पानी पिच गरिरहेको महाकाली सिचाइ जल उपभोक्ता समितका केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले बताए ।

‘बेलडाँडी –बेलौरीका स्थानीयहरुको दैनिकी आवतजावत हुने बाटो हो । वर्षौँदेखि मर्मत नहुदाँ ठूला खाल्डाखुल्डी परेका थिए’ अध्यक्ष थापाले भने ‘कार्यालयले यसवर्ष बजेट छुट्याइएको थियो । यो वर्ष भुडा– बैवाहको बाटो पानी पिच गर्दै छौ ।’