अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन यही असार २३ गते हुन गैरहेको छ । निर्वाचनमा तिन जना व्यवसायीले अध्यक्षमा उम्मेदवारी दिएका छन । जसमा कल्याण सिँह बोहरा, मिना देउवा र कविराज भट्ट रहेका छन । बोहरा र देउवाले प्यानल सहित उम्मेदवारी दर्ता गराएपनि भट्टले भने अध्यक्षमा मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका बोहराको प्यानलले निर्वाचन लक्षित प्रचारप्रसार तिब्र पारेको छ । यसअघिका पदाधिकारीहरुसमेतको सहयोग प्राप्त रहेको उक्त प्यानलमा बढी जसो अनुहार पुरानै रहेका छन भने केही नयाँ युवाहरुलाई टिममा समावेश गरिएको छ ।


संघमा आवद्ध हरेक क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरिरहेको र आफ्नो टिम जित्नेमा ढुक्क रहेको अध्यक्षका उम्मेदवार बोहराले बताए । उनले आफुसँग पुरानो काम गरेको अनुभवी टिम रहेको र पुराना पदाधिकारीहरुको समेत समर्थन रहेकाले आफ्नो टिमले जित हासिल गर्नेमा आफु विस्वस्त रहेको बताए । ‘प्रचारप्रसारका क्रममा गेटा, स्याउलेबजार लगायतका क्षेत्रहरुमा गईसकेका छौ, त्यहाँका व्यापारीहरुको उत्साह एकदमै राम्रो पाएका छौ’ उनले भने ‘काम गर्न सक्ने र अनुभवी टिम भएकाले सबै व्यवसायीहरुले हामीलाई भोट हाल्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौ ।’
उनले कोरोनाको महामारीका कारण भनेजस्तो काम गर्न नसकिएको बताउदै जुझारु र युवा टिम भएकाले आगामी दिनमा संस्था र व्यवसायीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त टिमको बरिष्ठ उपाध्यक्षमा निबर्तमान महासचिब यज्ञराज जोशी रहेका छन भने उपाध्यक्षमा देबराज भट्ट र चेतराज पन्त रहेका छन । यसैगरी महासचिवमा निवर्तमान सचिव शंकर खडका, सचिवमा दिपिन कुमार साउँद र कोषाध्यक्षमा हेमराज भण्डारी रहेका छन । सोही टिमबाट सदस्यमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदाशंकर र बम बहादुर बोगटी नयाँ अनुहारका रुपमा मैदानमा उत्रिएका छन ।
संघका संस्थापक अध्यक्ष बसन्त रोकाया र हालका अध्यक्ष अशोकराज देवकोटाले पनि बोहरा प्यानललाई नै समर्थन गरेका छन । उनिहरु पनि चुनावी प्रचारप्रसारमा सोही टिमको प्रतिनिधित्व गर्दै होमिएका छन ।


















