अत्तरिया – निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै अत्तरिया उद्योग बाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन अधिकृत वीर बहादुर जेठाराका अनुसार सोमबार बिहान साढे ११ देखि दिउँसो साढे १ सम्मको समय उम्मेदवारी दर्ताको लागि तोकिएको छ । १८ गते नै उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवार माथि दावी विरोध, दावी विरोधमा छानविन र निर्णय, उम्मेदवारीको फिर्ता लगातका काम गरी अन्तिम नामावली पनि सोही दिन प्रकाशित गरिने छ ।


असार २३ गते हुने निर्वाचनका लागि २ समुहबीच प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिका लागि (अध्यक्ष) मिना देउवा प्यानलको घोषणा भइसकेको छ । उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा फागुराम चौधरी र लक्ष्मण धामी, महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट रहेका छन् । यस्तै सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँद रहेका छन् । देउवा प्यानलले चुनावी प्रचारप्रसारलाई पनि अगाडी बढाइसकेको छ ।
अर्को प्यानलबाट कल्याण बोहरा अध्यक्षमा उठ्ने निश्चित भएपनि प्यानलको भने घोषणा गरिएको छैन । अध्यक्षका उम्मेदवार बोहराले सोमबार बिहान पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गरिने जनाएका छन ।
अध्यक्षका दावेदार देउवा अत्तरिया उद्योग बाणिज्य संघकी सदस्य हुन भने बोहरा बरिष्ठ उपाध्यक्ष हुन । देउवा प्यानलमा उनी बाहेक सबै नयाँ अनुहार छन भने बोहरा प्यानलमा हालको कार्यसमितिमा रहेका पदाधिकारी पनि दोहरीने आकलन गरिएको छ ।
यसअघिका निर्वाचनमा अत्तरिया उद्योग बाणिज्य संघमा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिप्रर्धा हुने गरेकोमा यस पटक भने कांग्रेस कै नेताहरु २ खेमामा विभाजित भएर चुनाव लडिरहेका छन् ।
यसअघि २०७५ मा भएको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस प्यानलबाट असोक राज देवकोटा र एमालेको प्यानलबाट टिकाराम आचार्य चुनावी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाएर विजयी भएका थिए भने आचार्यले २ सय ३० मत पाएका थिए ।


















