बैतडी – बैतडीको पाटन नगरपालिकाले विद्यालयको तह समायोजन गरिरहेको छ । नगरमा रहेका ११ वटा विद्यालयहरुको नगरले समायोजन गरिरहेको हो । भौगोलीक दुरी टाढा भएका र विद्यार्थी संख्याको आधारमा नगरपालिकाले विद्यालयको तह समायोजन गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले बताए ।
निश्चित मापदण्डको आधारमा विद्यालयहरुलाई समायोजना गरिरहेको उनले बताए । उनले विद्यार्थी संख्या नभएका विद्यालयहरुको तह घटाउने काम भइरहेको बताए । कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । ३ कक्षा सम्म सञ्चालन हुने भएपनि ११ जना मात्रै विद्यार्थी अध्ययनरत भैरहेकाले समायोजना गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ को ज्ञानज्योती आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ ।


वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने, वडा नं १ को गरालेकमा रहेको दुर्गाबेताल आधारभूत विद्यालय पनि कक्षा ३ सम्म कायम रहने र वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने नगरपालिकाले जनाएको छ ।
यस्तै वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटी पोखरी कक्षा ३ सम्म कायम रहने भएको छ भने वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने भएको छ । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाई हुने गरेको थियो ।
वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभुत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुदै आएको थियो । शिक्षक समायोजनको विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

















