खाेज्नुहाेस

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

Image

काठमाडौं –   क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी (बलात्कार) को मुद्दामा  आइतबार सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा पेसी तोकेको छ।

यस अघि गत बुधबार चैत २२ गते लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा ६ नम्बरमा पेसी परेको भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको थियो।

attariya hospital

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी   किशोरी माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय घ अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

दफा २१९ को उपदफा ९३० को देहाय घ मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटकरपटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।

navjiwan hospital

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको पीडित किशोरीले बताएकी थिइन्।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका ९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको दाबी छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो।

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ।

त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ। काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीको भनाइ छ।

उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।

विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको छ। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका छन्।