बझाङ – लामो समयदेखि पर्याप्त वर्षा नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाका दलित बस्तीमा बसोबास गर्ने परिवारको जीवनयापन संकटमा परेको छ। खडेरीसँगै बाढीपहिरो, सिँचाइको अभाव र खेतीपातीबाट उत्पादन घटेपछि ठूलो संख्यामा स्थानीय रोजगारीको खोजीमा भारत तथा अन्यत्र जान बाध्य भएका छन्।
बझाङका विभिन्न दलित बस्तीमा अहिले धेरै घरमा ताला लागेको छ। जयपृथ्वी नगरपालिका–१ कैलाशका ७६ वर्षीय प्यारु सार्कीका अनुसार दुई दशकअघिसम्म आफ्नै खेतबारी र परम्परागत कामबाट परिवारको गुजारा चल्ने गरेको थियो। तर अहिले उत्पादन घटेर खेतीबाट वर्षभरि खान पुग्ने अवस्था छैन। उनका छोराछोरी तथा नातिनातिनासमेत रोजगारीका लागि भारत गइसकेका छन्।

‘पहिले खेतबारीमा अन्न उत्पादन हुन्थ्यो, गाउँमा मानिसको चहलपहल पनि थियो,’ सार्कीले भने, ‘अहिले पानी नपरेपछि खेतीबाट खान पुग्दैन। रोजगारीका लागि छोराछोरी बाहिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै बस्नुपर्ने अवस्था आएको छ।’
कैलाश गाउँमा मात्रै दलित समुदायका ४५ परिवारको बसोबास रहेकामा करिब ३० घरमा ताल्चा लागेको स्थानीयको भनाइ छ। गाउँमा रहेका परिवारमध्ये पनि अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन्। लामो समयदेखि मानिस नबस्दा कतिपय घर भत्किन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिममा हिउँदे वर्षाको मात्रा पछिल्ला दशकमा घट्दो क्रममा छ। सन् २००९ यताका अधिकांश हिउँदमा औसतभन्दा कम वर्षा भएको तथ्यांक छ। हिउँदे वर्षा घट्नुका साथै मनसुनमा समेत पर्याप्त पानी नपर्दा पहाडी क्षेत्रमा खडेरीको समस्या थप गम्भीर बनेको विज्ञहरूले बताएका छन्।
बझाङमा दलित समुदायको आर्थिक अवस्था कमजोर हुनु, भूमिहीनता र सिँचाइको अभावले समस्या अझ बढाएको छ। जनगणना २०७८ अनुसार जिल्लामा ५ हजार ६६४ दलित परिवार रहेका छन्। तीमध्ये ठूलो हिस्सा आफ्नो उत्पादनले केही महिनामात्र खान पुग्ने अवस्थामा रहेको तथ्यांकले देखाउँछ।
स्थानीय अगुवा हरि सार्कीका अनुसार खेतीमा निर्भर परिवारका लागि पानीको अभाव सबैभन्दा ठूलो समस्या बनेको छ। ‘वर्षा नहुँदा खेत बाँझै रहन्छ। खेतीबाट आम्दानी नहुने भएपछि परिवार पाल्नकै लागि युवाहरू भारत जान बाध्य छन्,’ उनले भने, ‘गाउँमै रोजगारी र सिँचाइको व्यवस्था गर्न सके बसाइँसराइ केही हदसम्म रोक्न सकिन्छ।’
अछाम र बाजुराका दलित बस्तीको अवस्था पनि उस्तै छ। अछामको बयलपाटामा केही वर्षअघि सयौँ दलित परिवार रहेकामा अहिले उल्लेख्य संख्या गाउँ छाडेर गएको स्थानीयको भनाइ छ। बाजुराको मुक्तिकोटमा लामो समयदेखि वर्षा नहुँदा खेतीपाती प्रभावित हुनुका साथै कुपोषणको समस्या समेत गम्भीर बनेको छ।
दलित समुदाय जलवायुजन्य विपद्को उच्च जोखिममा रहे पनि उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक पहुँच कमजोर भएकाले असर अझ बढी परेको विभिन्न अध्ययनले देखाएका छन्। खडेरी, बाढीपहिरो र रोजगारीको अभावका कारण भइरहेको बसाइँसराइले गाउँका घर मात्रै होइन, स्थानीय सीप, परम्परा, सामाजिक सम्बन्ध र बस्तीको अस्तित्वसमेत प्रभावित हुँदै गएको छ।
जलवायु परिवर्तनका कारण आगामी दिनमा खडेरीको समस्या थप बढ्न सक्ने अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्थामा पहाडी क्षेत्रमा सिँचाइ विस्तार, रोजगारी सिर्जना, कृषि अनुकूलन, खाद्य सुरक्षा र जोखिममा रहेका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

















