कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । निर्माण सुरु भएको छ महिनामै करिब २५ प्रतिशत भौतिक प्रगति भएको छ । कामको यही गति कायम रहे अबको दुई वर्षभित्र नेपालतर्फका संरचना बनिसक्ने र भारततर्फको पूर्वाधारसमेत समयमै तयार भएमा तीन वर्षभित्र बन्दरगाह सञ्चालनमा ल्याउन सकिने छ ।
३० महिनाभित्र आवश्यक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भारत सरकारको करिब २३७ करोड भारु लागतमा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई बन्दरगाह भारतले नै निर्माण गरिरहेको छ ।


सम्झौताअनुसार नेपाल सरकारले भ्याट, रोयल्टीलगायतका खर्च व्यहोर्नेछ । हाल प्रशासनिक भवन, गोदाम, भन्सार तथा सुरक्षा भवन, क्वारेन्टाइन चेकपोस्ट र मालसामान लोड अनलोड गर्ने सेड निर्माणको काम एकैसाथ भइरहेको छ ।
भारततर्फ पनि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ । बन्दरगाहलाई भारतीय राष्ट्रिय राजमार्गसँग जोड्न पहुँचमार्ग तथा फ्लाइओभर बन्दैछन् ।
भारततर्फ पनि बन्दरगाहका संरचना निर्माणका लागि भारतले पाँच सय करोड भारु लागत अनुमानसहित टेन्डर आह्वान गरेको छ । दुवैतर्फका पूर्वाधार समयमै निर्माण सम्पन्न भए तीन वर्षभित्रै बन्दरगाह सञ्चालनमा ल्याउन सकिने अपेक्षा छ ।

















