खाेज्नुहाेस

घाइते छाडा चौपायाको संरक्षणमा चरम लापरबाही

Image

अत्तरिया – करिब एक साता अघि अत्तरिया–धनगढी ६ लेन सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएको गाई अहिले जीवन मरणको दोषाधमा छ । घाइते भएको ३/४ दिन पछि आइतबार गोदावरी नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्र अगाडिको पुगाइएको उक्त गाई हाल चोटले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको हो । उक्त गाई सडकमा घाइते अवस्थामा देखेपछि गेटा शिक्षण अस्पतालमा कार्यरत योगेश चन्दले पशु सेवा केन्द्रमा पुगाएका थिए । तर, त्यहाँ सामान्य उपचार भए पनि गाईलाई खाना, पानीको व्यवस्था नहुँदा हाल भोकले मर्ने अवस्थामा पुगेको छ ।

उपचार पाउने आश मै केहिदिन अघि स्थानीयले नै पुगाएको गाईको बाछो पनि संरक्षणको अभावमा मर्ने अवस्थामा पुगेपछि आइतबार राती मात्रै बर्दियाको सोल्टिज होपले उद्धार गरेको थियो । जङ्गलमा बाँधिएको अवस्थामा भेटिएको उक्त बाछोको घाटीमा डोरीको गहिरो घाउ भएको थियो । लामो समय खाना पानी नपाएको उक्त बाछोलाई पशु सेवा केन्द्रले मलम पट्टि गरेपछि खाना पानीको व्यवस्था गर्न नसक्ने भन्दै छोडेको थियो ।

attariya hospital

स्थानीय योगेश चन्दले घाटीमा गहिरो घाउ भएको उक्त गाइलाई उपचारका लागि ल्याइएको भए पनि कृषि तथा पशु उपचार केन्द्रले बेवास्ता गरेपछि बर्दिया पठाइएको बताए ।

‘धनगढी अत्तरिया सडक किनारामा मोटरसाइकलको ठक्करबाट घाइते भएको गाइको उपचारका लागि आउँदा यहाँ झन् उपचार नपाएर दर्दनाक अवस्थामा गाईको बाछी देख्यौ’ उनले भने ‘बोरामा लपेटिएको अवस्थामा गाईको बाछी मरिरहेको थियो । घाटीमा ठुलो घाउ थियो । बेवारिसे छोडिएको बाछीको आँखा पनि कागले निकालेको रहेछ । हामीले किन उपचार नगरेको भन्दा औषधी छैन, बिदाको दिन उपचार हुँदैन भनेपछि घाइते पशु चौपायाको उद्धार गर्ने सोल्टिज होप संस्थालाई खबर गरेका हौ ।’ उक्त गाइको बाछिलाई योगेश चन्दको पहलपछि स्थानीय गौ संरक्षणकर्मी जनक पन्त लगायतको सहयोगमा उद्धार गरेर बर्दिया लगिएको थियो ।

navjiwan hospital

सोल्टिज होपका अध्यक्ष प्रकाश मल्लले पशु उपचार केन्द्र अगाडि नै यस्तो अवस्थामा गाइको बाछिलाई बेवारिसे अवस्थामा छोडेको देख्न नसकेर उद्धार गरेर लगिरहेको बताए ।

उनले आफूहरूले आफ्नो संस्थाले घाइते बिरामी पशु, पक्षीको उद्धार उपचार, व्यवस्थापन तथा आधिकारका लागि काम गरिरहेको बताए । उनले गाइको बाछीको अवस्था नाजुक भए पनि उपचार पछि निको हुने विश्वास लिइएको बताए । आइतबार राती बर्दियाबाट अत्तरिया पुगेका उनले स्थानीय स्तरमै उपचार र व्यवस्थापनको लागि पहल गर्दा कसैले पनि वास्ता नगरेको बताए । त्यसपछि उक्त गाइको बाछीको राती नै उद्धार गरेर बर्दिया लगिएको थियो ।

घाँस काटेर दिन सक्दैनौ

कृषि तथा पशुपन्छी सेवा केन्द्रकी पशु चिकित्सक निलम कुमारी महोताले आफूहरूले सामान्य उपचार गर्ने भए पनि घाँस, पानी दिन नसक्ने बताइन । उनले पशु शाखामा आफू लगायत ३ जना मात्रै कार्यरत रहेको बताउँदै घाइते छोडिएका पशुको संरक्षण गर्न सक्ने अवस्था नभएको बताइन ।

उनले सडक दुर्घटना घाइते भएका, चोटपटक लागेका छाडा चौपाया स्थानीयले उपचारका लागि भनेर कार्यालय अगाडि छोडेर जाने गरेको बताइन । ‘हामीले यहाँ घाइते भएका पशुको उपचार गरिरहेका हुन्छौ तर, हामीले घाँस काटेर कहाँबाट ल्याएर दिन सक्छौ’ उनले भनिन् ‘यसका लागि छुटै एक जना कर्मचारी नियुक्त गरेर छुटै उपचारका लागि पनि सेड बनाइदिएको भए सहज हुने थियो ।’ उनले आफूले नगरपालिकामा पनि यस विषयमा पटक पटक कुरा राखे पनि कुनै पहल नभएको बताइन् ।