अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको नवज्योती माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार नगरप्रमुख विरेन्द्र भट्टले भवनको शिलान्यास गरे ।
शिलान्यास पश्चात बोल्दै भट्टले राष्ट्रपति शिक्षा सुधार कार्यक्रम अन्तरगत भवन निर्माण सुरु भएको बताए । उनले विद्यालयमा विद्यार्थीको संख्या बढी भएको र भौतिक पुर्वाधार अभाव भएकाले एउटा चार कोठे भवन निर्माण गर्न लागिएको बताए । ‘बजार नजिकैको विद्यालय भएकाले विद्यार्थीको संख्या बढी छ’ उनले भने ‘विद्यालयमा भवन अभावको माग लिएर विद्यालय व्यवस्थापन समिति आएपछि हामीले सहयोग गरेका हौ ।’ उनले विद्यालयको भवन निर्माणका लागी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको बजेट केही कम हुने देखिएकाले भवन निर्माणका लागी आवश्यक पर्ने बाँकी रकम नगरपालिकाले सहयोग गर्न तयार रहेको बताए ।

वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले विद्यालयमा भौतिक पुर्वाधार अभावको समस्या केही हदसम्म कम भएको बताए । उनले बजार नजिकै र एकान्त स्थानमा रहेको विद्यालय भएकाले निमावि सम्मकै अवस्थामा पनि विद्यार्थीहरुको संख्या बढी रहेको बताए । उनले मुख्य गरी छात्राहरुलार्ई विद्यालयमा अध्यापनका लागी एकदमै सहज भएको बताए ।

‘छात्राहरुलाई गाउँ, टोल भन्दा बाहिर गएर अध्यापन गर्न समस्या हून्छ’ उनले भने ‘नजिकैको विद्यालय भएकाले उनिहरुलाई शिक्षा आर्जन गर्न सहज भएको छ ।’ उक्त विद्यालय अरु विद्यालयको तुलनामा शैक्षिक दृष्ट्रिकोणले एकदमै उपयुक्त विद्यालय भएकाले यसको व्यवस्थापन गर्न जरुरी रहेको बताए । वडाको तर्फबाट गत आर्थिक वर्षमै पर्खाल निर्माणका लागी २ लाख ५० हजार बजेट विनियोजन गरिएको बताउदै उनले आगामी दिनहरुमा विद्यालयका आवश्यकताहरु परिपुर्ति गर्न वडाको तर्फबाट थप सहयोगहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयकी प्रधानाध्यापक जानकी साउँदले विद्यालय निमावि बाट माविका लागी सिफारीस भैसकेकाले भौतिक पुर्वाधार अति आवश्यक भएको बताईन । उनले विद्यालयमा अझै पनि लाईब्रेरि र शौचालयको अभाव रहेको बताईन ।
‘बजार नजिकैको विद्यालय हो, यसको व्यवस्थापन राम्ररी गर्न जरुरी छ’ उनले भनिन ‘निमावि सम्म अध्यापन हुदै आएको विद्यालय आगामी शैक्षिक सत्र देखी कक्षा १० सम्मको अध्यापन गर्ने गरी सिफारीस भैसकेको छ, यस्तोमा विद्यार्थीको संख्या अझै बढ्ने भएकाले भौतिक पुर्वाधारहरुको आवश्यकता त फेरी पनि पर्ने नै हो ।’ उनले तत्कालका लागी निर्माण भैरहेको भवनले केही हदसम्म सहयता प्रदान गर्ने बताईन । उनले कक्षा १० सम्मको अध्यापन गराईने भएपनि विद्यालयमा शिक्षकहरुको पनि आवश्यकता रहेको बताईन । उनले विद्यालयमा ३ जना विषय शिक्षकहरु आवश्यक भएको र त्यसका लागी सहयोग गरिदिन हुन नगरपालिकालाई आग्रह गरिन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छुट्याईएको ४५ लाख रुपैयामा विद्यालयको दुई तले ४ कोठे पक्कि भवन निर्माण भैरहेको हो । उपभोक्ता समिति मार्फत नै यही चैतमा सम्झौता भएर बुधबार देखी काम सुरु भएको भवनको निर्माण असार मसान्त सम्म गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । उक्त विद्यालयमा वडा नं. ३ का सबै स्थानका विद्यार्थीहरुका साथै वडा नं. २ का केही क्षेत्रका र वडा नं. १० का केही स्थानका विद्यार्थीहरु अध्ययनका लागी आउने गरेका छन । विद्यालयमा सबै जना गरि कुल १७ जना कर्मचारीहरु रहेका छन ।













