धनगढी – कैलालीको धनगढीमा रहेको फूलवारी बहुमुखी क्याम्पसका उपप्राध्यापक बम बहादुर बम अनशनमा बसेका छन । क्याम्पसले लामो समयदेखि तलब नदिएको भन्दै उनी अनशनमा बसेका हुन ।
धेरै पल्ट क्याम्पसमा तलबको लागि प्रस्ताव राख्दा पनि नपाएको कारण अनसन बस्न बाध्य भएको उनले बताएका छन् । उनले क्यापससँग ९ बुँदे माग राख्दै आइतबारदेखि अनसन बसेको बताए ।

उनले हालसम्म क्याम्पसबाट पाउन बाँकि रहेको तलब भत्ता एकमुष्ट पाउनु पर्ने माग राख्दै अनसन थालेका हुन् । उनले सफाईको मौका नदिई स्पस्टिकरण विना तानाशाह शैलीमा सहायक क्याम्पस प्रमुखबाट पदमुक्त गरिएको हुँदा पद फिर्ता लिनुपर्ने माग समेत अघि सारेका छन् । उनले नियम विपरित घटाएको तलब भत्ता पूर्ववत् हुनुपर्ने माग राखेको बताए ।

मागमा उनले क्याम्पस सञ्चालक समितिको स्वेच्छाचारी प्रवृतिको अन्त्य गर्नुपर्ने, त्रिविको ऐन, नियम तथा क्याम्पसको विधान तथा नियामवलीको अक्षरस पालना गर्नुपर्ने, शिक्षक प्राध्यापकको अवरुद्ध सेवा वृत्ति प्रक्रिया अबलम्व सुरु गर्नुपर्ने माग गरेका छन् ।
उनले अनसन माग पुरा नभएसम्म क्याम्पस समयमा अनसन निरन्तर जारी राख्ने बताएका छन् । उपप्रध्यापक बमले २०७९ असार मसान्तसम्म आफूले क्याम्पसबाट पाउनुपर्ने १४ लाख २० हजार ६ सय ३१ रुपैयाँ बाँकी रहेको बताए । उनले असारदेखि हालसम्मको जोड्दा आफूले क्याम्पसबाट पाउनुपर्ने बाँकि रकम १५ लाख भन्दा बढी रहेको बताए ।
क्याम्पस प्रमुखका अनुसार क्याम्पसमा अध्यापन गराउने सम्पूर्ण शिक्षकको २०७९ असार मसान्तसम्मको कुल ९१ लाख ७७ हजार ७ सय पाँच रुपैयाँ तलब भत्ता दिन बाँकि रहेको छ ।
आर्थिक संकटका कारण शिक्षकको तलब भत्ता दिन नसकिएको बताउँदै उनले यथाशिघ्र तलबको व्यवस्था गर्न क्याम्पस व्यवस्थापन समिति लागीरहेको जानकारी दिए । उनले हालसम्मको तलब दिन बाँकि जोड्दा १ करोड भन्दा बढी भएकाले अवस्था निकै चुनौती पूर्ण भएको बताए ।
















