खाेज्नुहाेस

खर्च नगरी किनमेलको आनन्दः युवामाझ लोकप्रिय बन्दै डोपामिन साइट

Image

काठमाडौँ — दक्षिण कोरियामा एउटा अनौठो डिजिटल लहर शुरु भएको छ । यसमा प्रयोगकर्ताले खर्च नै नगरी आफूलाई मनपरेका सामान, खाना, ग्याजेट वा अन्य चिजबिज अनलाइन सपिङ गरेको अनुभव लिइरहेका छन् । त्यहाँ विभिन्न ‘फेक सपिङ साइट’ वा ‘डोपामिन साइटहरू’ लोकप्रिय बनिरहेका छन् । यिनै वेबसाइटले प्रयोगकर्तालाई निशुल्क अनलाइन सपिङको अनुभव प्रदान गर्छन् । यसको मुख्य उद्देश्य पैसा खर्च नगरिकनै किनमेलको रहर र उत्साह पूरा गर्नु हो ।

यी वेबसाइटमा वास्तविक ई–कमर्स प्लाटफर्ममाजस्तै सामान वा खानाका सूची, ग्राहकका प्रतिक्रिया र विभिन्न प्रकारका फिल्टर उपलब्ध छन् । प्रयोगकर्ताले सजिलैसँग सामान खोज्न, कार्टमा थप्न र ठेगाना राखेर खरिद प्रक्रिया पूरा गर्न सक्छन् । कतिपय साइटमा त अर्डर गरेपछि म्यापमा डेलिभरी राइडर आफूतिर आउँदै गरेको देख्न सकिन्छ । तर, यसको मुख्य विशेषता भनेकै अर्डर गरिएको सामान कहिल्यै घरमा आउँदैन र पैसा पनि काटिँदैन ।

attariya hospital
navjiwan hospital

यसको अवधारणा मानिसको खरिद गर्ने प्रवृत्ति र मनोविज्ञानसँग जोडिएको छ । अध्ययनहरूका अनुसार मानिसहरूलाई सामान पाउनुभन्दा पनि सामान खोज्ने र कार्टमा थप्ने प्रक्रियामा बढी आनन्द मिल्छ । सामान छान्न पाउनु र खरिदको निर्णय लिनुले मस्तिष्कमा सन्तुष्टिको भाव ‘डोपामिन’ पैदा गर्छ । दक्षिण कोरियाका युवाहरूले यसलाई तनाव कम गर्ने र फजुल खर्च जोगाउने एउटा अनौठो तरिकाका रूपमा अपनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यम मासेबलका अनुसार दक्षिण कोरियाको अत्यधिक कार्यथलो र शैक्षिक तनावका कारण त्यहाँ यस्ता डिजिटल विकल्प फस्टाएका हुन् । मासेबलले आफ्नो रिपोर्टमा मालही नामका कोरियाली सफ्टवेयर विकासकर्ताले बनाएको ‘फुड नेभर कम्स’ (खाना कहिल्यै आइपुग्दैन) नामक चर्चित एपको चर्चा गरेको छ । राति ढिलो अनलाइनमा खाना अर्डर गर्ने खराब बानी सुधार्न उनले शुरुमा ठट्टाका रूपमा यो एप बनाएका थिए । अहिले यस्ता साइटहरू कोरियाली युवाहरूको प्रिय बन्दै गइरहेका छन् ।

अर्को सञ्चारमाध्यम भाइस डटकमका अनुसार अनलाइन विज्ञापनले हैरान पारेको आजको समयमा युवा पुस्ताका लागि यो उपयोगी वित्तीय उपाय बनेको छ । भाइसको समाचारमा उल्लेख भएअनुसार यस अनौठो अवधारणाप्रति दक्षिण कोरियाबाहिर अन्य देशका युवामा पनि चासो फैलिएको छ । इन्टरनेट मञ्च ‘रेडिट’ मा भने पश्चिमा देशका प्रयोगकर्ताबीच यस विषयमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले यसलाई समयको बर्बादी भनेर आलोचना गरेका छन् । तर, अनियन्त्रित रूपमा पैसा खर्च गर्ने बानी भएका प्रयोगकर्ताहरूले भने यसलाई आफ्नो बानी सुधार्ने गजबको र सुरक्षित उपाय मानेका छन् ।