काठमाडौं । के तपाईं आफ्ना तस्बिरहरूलाई च्याट गर्दा प्रयोग हुने स्टिकरमा बदल्न चाहनुहुन्छ ? च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ र निकै उपयोगी फिचर सार्वजनिक गरेको हो ।
यससँगै च्याटजीपीटी प्रयोगकर्ताहरूले कुनै पनि फोटोलाई आईमेसेज वा ह्वाट्सएप स्टिकरमा परिणत गर्न सक्ने भएका छन् । यसका साथै प्रयोगकर्ताहरूले आफ्ना अनौठा आइडियाहरू वा रमाइला ठट्टाहरूलाई कस्टम स्टिकर प्याकको रूपमा पनि तयार पार्न सक्नेछन् । यस फिचरले ह्वाट्सएपका साथै एप्पलको आईमेसेजलाई पनि सपोर्ट गर्दछ । यसको मद्दतले पारदर्शी पृष्ठभूमि (transparent background) भएका स्टिकरहरू बनाउन सकिनेछ ।

ओपनएआईले आफ्नो आधिकारिक एक्स अकाउन्टमा यो फिचरको घोषणा गर्दै लेखेको छ, ‘स्टिकर । स्टिकर ? स्टिकर ! अब च्याटजीपीटी इमेजको प्रयोग गरेर कुनै पनि फोटो, आइडिया वा भित्री ठट्टा (inside joke) लाई कस्टम स्टिकर प्याकमा बदल्नुहोस – त्यो पनि पारदर्शी पृष्ठभूमिका साथ । च्याटजीपीटीमा बनाउनुहोस्, आईमेसेज वा ह्वाट्सएपमा शेयर गर्नुहोस् । यसका साथै, तपाईँले आफ्ना अन्य तस्बिरहरूका लागि पनि पारदर्शी पृष्ठभूमि तयार पार्न सक्नुहुनेछ ।’
कसरी बनाउने स्टिकर ?

यो फिचर प्रयोग गर्न निकै सजिलो छ । यसका लागि च्याटजीपीटीको साइडबारमा रहेको इमेजेज (Images) विकल्प छनोट गरी त्यसभित्र रहेको स्टिकर्स (Stickers) मा क्लिक गरेर काम सुरु गर्न सकिन्छ । यो नयाँ फिचर अन्तर्गत तपाईंले आफ्नो ग्यालरीबाट एउटा वा धेरै तस्बिरहरू अपलोड गर्न सक्नु हुनेछ । तस्बिर अपलोड गरिसकेपछि च्याटजीपीटीलाई ती फोटोहरूलाई स्टिकरमा परिणत गर्न, रिमिक्स गरेर धेरै स्टिकरहरू बनाउन, वा तिनमा कुनै नयाँ तत्त्व थप्न वा हटाउनका लागि आग्रह गर्न सकिन्छ ।
यसका साथै प्रयोगकर्ताहरूले कुनै अर्को तस्बिरको डिजाइन शैली (style) लाई आफ्नो स्टिकरमा स्थानान्तरण गर्न सक्छन् वा आफूलाई चाहिएको शैलीको वर्णन प्रम्प्ट (prompt) मा लेखेर मात्र पनि नयाँ स्टिकर तयार पार्न सक्छन् ।
च्याट एपहरूमा एक्सपोर्ट गर्ने तरिका
स्टिकर तयार भइसकेपछि, तपाईंले ‘एड टु च्याट एप्स’ (Add to chat apps) बटनमा ट्याप गरेर सपोर्ट गर्ने च्याट एपहरूमा पठाउन सक्नु हुनेछ । हालका लागि आईमेसेज, ह्वाट्सएप र फोटोमा सेभ गर्ने विकल्पहरू उपलब्ध छन् । ह्वाट्सएपमा एक्सपोर्ट गर्नका लागि भने कम्तीमा ३ वटा वा सोभन्दा बढी स्टिकर हुनुपर्नेछ ।
ह्वाट्सएपमा एक्सपोर्ट गर्न कम्तीमा तीनवटा स्टिकर हुनुपर्ने यो नियम च्याटजीपीटीको कुनै प्राविधिक सीमा नभएर ह्वाट्सएपको मातृ कम्पनी मेटाले नै तोकेको आफ्नै अनिवार्य नियम हो । यो नयाँ अपडेटसँगै अब च्याटजीपीटीका प्रयोगकर्ताहरूले आफ्ना दैनिक कुराकानीलाई अझ बढी रचनात्मक, रमाइलो र व्यक्तिगत बनाउन सक्नेछन् ।



















