सन्तोष पन्त , बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताका ४४ वर्षीय करम सिंह राना (कर्मु) ले आधुनिक प्रविधिको प्रयोग गर्दै यस वर्ष २५ फिटसम्म लामो उखु उत्पादन गर्दै छन् । चार दाजुभाइमध्ये कान्छा रानाले अहिले आफ्नै २ बिगाहा जमिनसँगै ठेक्का तथा भाडामा जमिन लिएर १८ बिगाहाभन्दा बढी क्षेत्रमा उखु खेती गर्दै आएका छन् । उनले थप ५ बिगाहा क्षेत्रमा व्यावसायिक केरा खेतीसमेत गरिरहेका छन् ।
राना परिवारले २०६० सालअघिदेखि नै व्यावसायिक रूपमा उखु खेती गर्दै आएको हो । दाजुभाइबीच आठ वर्षअघि अंशबण्डा भएपछि कर्मुको भागमा करिब २ बिगाहा जमिन परेको थियो । त्यसपछि उनले खेती विस्तार गर्दै लगे ।

‘उखु खेती २०६० सालअघिदेखि नै सुरु गरेका हौँ,’ रानाले भने, ‘अहिले आफ्नो जमिनसँगै भाडामा जमिन लिएर १८ बिगाहाभन्दा बढीमा उखु खेती गरिरहेको छु ।’ २०७६ सालमा बेलौरी नगरपालिका–१० शिवनगरमा महाकाली सुगर मिल सञ्चालनमा आएपछि उखु खेतीलाई थप व्यावसायिक बनाएको उनले बताए । पछिल्ला ३–४ वर्षदेखि भने उनले परम्परागत शैली छाडेर नयाँ प्रविधिबाट उखु खेती गर्न थालेका छन् ।

भारतको महाराष्ट्र पुगेर उखु खेतीको प्रविधि सिकेका रानाले बेर्ना उत्पादन गरी ‘बड’ विधिबाट उखु खेती गरिरहेका छन् । यो विधिमा उखुलाई फराकिलो दूरीमा रोपिने भएकाले गोडमेल, मलखाद तथा अन्य व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

गत वर्ष उनले १ कट्ठा १५ धुर जमिनमा यो प्रविधिबाट उखु लगाएका थिए । त्यहाँ करिब २२ फिट लामो उखु उत्पादन भएको र करिब १९० क्विन्टल उखु फलेको उनले बताए । यस वर्ष भने घर नजिकै ३ कट्ठा जमिनमा उखु लगाएका छन् । हाल उखु १७–१८ फिट लामो भइसकेको छ । ‘यस वर्ष महाराष्ट्रबाट सीओ ८६३२ जातको उखुको बेर्ना उत्पादन गरेर ३ कट्ठामा लगाएको छु,’ रानाले भने, ‘अघिल्लो वर्ष १ कट्ठामा लगाएको थिएँ । फराकिलो दूरीमा लगाउँदा गोडमेलदेखि मल र विषादी प्रयोग गर्न सजिलो हुन्छ, जसले उखुको उचाइ र मोटाइ बढाउँछ ।’ हाल उखु १७–१८ फिट पुगेकाले ड्रोनको प्रयोग गर्ने तयारीसमेत भइरहेको उनले बताए। मिलमा पु¥याउने बेलासम्म उखु २५ फिटसम्म लामो हुने र एउटा उखुको तौल २ देखि ४ किलोसम्म पुग्ने उनको अनुमान छ ।
रानाका अनुसार नयाँ प्रविधिबाट खेती गर्दा श्रमिक खर्च घट्ने, मेसिन प्रयोग गर्न सकिने र कम जमिनमा पनि बढी उत्पादन लिन सकिन्छ । उनका अनुसार एक बिगाहामा सामान्यतया ६–७ सय क्विन्टल उखु उत्पादन हुने गरेको छ । महाराष्ट्रमा उनले बड विधिबाट गरिएको खेती हेर्दा एक एकड अर्थात् करिब १३ कट्ठा जमिनमा १ हजारदेखि १ हजार ५ सय क्विन्टलसम्म उखु उत्पादन भएको देखेका थिए। त्यहीबाट प्रेरित भएर उनले बेलौरीमा यो प्रविधि सुरु गरेका हुन् ।
‘हामी बाक्लो उखु लगायो भने बढी उत्पादन हुन्छ भन्ने ठान्छौँ, तर त्यस्तो होइन,’ उनले भने, ‘उखुलाई जति स्याहारसुसार गर्न सक्यो, त्यति नै राम्रो उत्पादन हुन्छ । फराकिलो दूरीमा लगाउँदा गोडमेलदेखि अन्य काम गर्न सहज हुन्छ ।’ उखु खेतीबाट सबै खर्च कटाएर एक बिगाहामा वार्षिक २–३ लाख रुपैयाँभन्दा बढी बचत हुने रानाको भनाइ छ । उनले चार जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । जमिन भाडामा लिन मात्रै वार्षिक ८–१० लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए । उखुसँगै केरा खेतीमा पनि सक्रिय रानाले भने पटक–पटक नोक्सानी बेहोर्नुपरेको छ । २०६२ सालदेखि केरा खेती गर्दै आएका उनले बाढी, भूकम्प, बजार अभाव र उचित मूल्य नपाउँदा ठूलो क्षति व्यहोरेका छन् ।
‘२०६५/०६६ सालको बाढीले केरा बगायो, २०७२ सालको भूकम्पले ३० लाख रुपैयाँभन्दा बढीको क्षति भयो,’ उनले भने, ‘२०८१ सालको बाढीले २५ लाखभन्दा बढीको क्षति ग¥यो । १८ हजार बेर्ना मरे र २ बिगाहा क्षेत्र सुक्यो। २०८२ सालमा उचित मूल्य नै पाइएन ।’ लगातारको नोक्सानीका बाबजुद उनले केरा खेती भने छाडेका छैनन् । पछिल्लो समय बजारमा केराको माग बढेको र भारतबाट आयात कम हुँदा नेपाली किसानले राम्रो मूल्य पाउन थालेको उनले बताए ।

यस वर्ष ३.५ बिगाहामा लगाएको केराले हालकै मूल्य कायम रहे करिब ४० लाख रुपैयाँको कारोबार हुने उनको अनुमान छ । बेलौरी क्षेत्रमा पछिल्लो समय केरा खेती विस्तार हुँदै गएपछि भाडामा जमिन पाउनसमेत कठिन हुन थालेको रानाले बताए । कृषिमा नयाँ प्रविधि भित्र्याउन सके नेपाली किसानले कम जमिन र कम लागतमा उत्पादन बढाउन सक्ने उनको अनुभव छ ।
















