अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका तीन वटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्री शुल्क (रोयल्टी) संकलनका लागि ९ करोड ३० लाख ८२ हजार १०२ रुपैयाँमा कबाेल गर्ने फर्म छनाेट भएका छन ।
नगरपालिकाले शनिबार आन्तरिक आय संकलनका लागि आह्वान गरेको बोलपत्रमा अधिकतम मूल्य कबोल गर्ने तीन वटा फर्मलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरेको हो। गोदावरी नगरपालिकाले गोदावरी, खैराना र खुटिया खोलाबाट ढुंगा, गिट्टी, बालुवा, भरान तथा ग्राभेललगायत नदीजन्य पदार्थको बिक्री शुल्क संकलनका लागि छुट्टाछुट्टै तीनवटा प्याकेजमा बोलपत्र आह्वान गरेको थियो।

नगरपालिकाले निर्धारण गरेको तीनवटै ठेक्काको न्यूनतम कबोल रकम ८ करोड ३ लाख ४९ हजार ४६७ रुपैयाँ ताेकेकाे थियो। प्रतिस्पर्धाबाट भने उक्त रकम बढेर ९ करोड ३० लाख ८२ हजार १०२ रुपैयाँ पुगेको हो।
गोदावरी खोलाको ठेक्का २ करोड २२ लाखमा
गोदावरी खोलाबाट प्राकृतिक स्रोत नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि नगरपालिकाले न्यूनतम १ करोड ५४ लाख २८ हजार ९५७ रुपैयाँ कबोल अंक निर्धारण गरेको थियो।

यसमा सुलभ इन्फ्रा प्रा.लि., बालाजु–१६, काठमाडौंले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ कबोल गरेपछि उक्त फर्म छनोट भएको छ।
खैराना खोलाको ठेक्का ९६ लाखमा
त्यसैगरी खैराना खोलाबाट नदीजन्य पदार्थको बिक्री शुल्क संकलनका लागि न्यूनतम ९६ लाख ५९ हजार ७७१ रुपैयाँ कबोल अंक तोकिएको थियो।
उक्त ठेक्कामा क्रेटिभ कन्स्ट्रक्सन गोदावरी–२, अत्तरिया, कैलालीले ९७ लाख ५९ हजार ८८० रुपैयाँ कबोल गरेको छ।
खुटिया खोलाको ठेक्का सबैभन्दा बढी
तीनमध्ये सबैभन्दा ठूलो रकमको ठेक्का खुटिया खोलाबाट नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि लागेको छ। उक्त ठेक्काको न्यूनतम कबोल रकम ५ करोड ५२ लाख ६० हजार ७३९ रुपैयाँ निर्धारण गरिएको थियो।
तर बोलपत्र प्रतिस्पर्धामा सिम्पानी निर्माण सेवा प्रा.लि.–रिलायन्स इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. भीमेश्वरी –६, चरिकोट, दोलखा जेभी काठमाडौं–१० ले ६ करोड ११ लाख रुपैयाँ कबोल गरेको छ।

















