बाजुरा – विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले चाडपर्वका बेला जिल्लाभित्र तथा बाहिर आवतजावत गर्ने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्षको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले एक कार्यक्रमका बिच उद्घाटन गरेकी छन् । सहायता कक्षमार्फत चाडपर्वको समयमा यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराइने उनले बताएकी छन् ।

डीएसपी बोहराका अनुसार चाडपर्वको समयमा सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएकी छन । उद्धघाटन कार्यक्रममा सहभागी चालक सहचालक र यात्रुहरुलाइ यात्राका क्रममा कुनै समस्या, दुर्घटना, सवारीसाधनको अनियमितता, भाडा असुली वा अन्य गुनासो भएमा सहायता कक्ष तथा नजिकैको प्रहरीलाई जानकारी गराउन सकिने उनले बताइन् ।
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्नुका साथै लामो दूरीका यात्रामा जोखिमसमेत बढ्ने भएकाले प्रहरीले सवारीसाधनको अवस्था, चालकको अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तीव्र गतिमा सवारी चलाउने कार्यमाथि निगरानी बढाउने जनाएको छ ।

















