खाेज्नुहाेस

बाजुराका महिलाहरुलाई कोदो रोप्ने चटारो

Image
file photo

बाजुरा – बाजुराका महिलाहरूलाई कोदो रोप्ने चटारो परेको छ । साउन लागेसँगै यहाँका महिलाहरुलाई कोदो रोप्ने चटारो परेको हो । जेठ र असारको अन्तिम सातासम्म धान रोपाइँमा व्यस्त रहने महिलाहरू साउन सुरु भएपछि कोदो खेतीमा लाग्ने गरेका छन् । यहाँ पुरुषको तुलनामा महिला नै कोदो रोपाइँमा बढी सक्रिय हुने गरेका छन् । गाउँमा पुरुषको बसोबास कम हुने तथा रोजगारीका लागि बाहिर जाने भएकाले पनि महिला नै असारमा धान रोपाइँ र साउनमा कोदो रोप्ने काममा बढी संलग्न हुने गरेका हुन् ।

त्रिवेणी नगरपालिकाकी स्थानीय पार्वती साउँदले असारमा बिहानदेखि बेलुकासम्म धान रोपाइँ गरेजस्तै अहिले कोदो रोप्ने काम भइरहेको बताईन । उनका अनुसार यहाँ कोदो दुई पटक लगाउने गरिन्छ । भदौमा पाक्ने (अगन खाने) कोदो वैशाख–जेठमा रोपिने र कात्तिक–मङ्सिरमा पाक्ने कोदो अहिले रोपिने उनि बताउँछीन । कोदो रोप्ने समय भएकाले अहिले यहाँका अधिकांश महिला घरभन्दा बढी खेतबारीमै व्यस्त हुने गरेका छन् । समयमै कोदो नरोपे उत्पादन राम्रो नहुने भएकाले अहिले महिला बिहानदेखि दिउँसोसम्म कोदोको बेर्ना केलाउने, उखेल्ने र रोप्ने काममा व्यस्त हुने गरेको साउँदले बताईन ।

attariya hospital
navjiwan hospital

बाजुराका पाखो, भिरालो तथा सिँचाइ सुविधा नभएका जमिनमा कोदो खेती हुने गरेको छ । परम्परागत रूपमा बुट्यान र जङ्गल फँडानी गरी जमिन तयार पारेर कोदो लगाउने चलनसमेत रहेको छ । धान र गहुँको उत्पादन पर्याप्त नभए पनि बाजुरावासीका लागि कोदो भोक मेटाउने खाद्यान्न मात्र नभई पोषणयुक्त आहारका रूपमा लिने गरिन्छ । विगतमा पुराना पुस्ताले धेरै मात्रामा कोदो खेती गर्ने गरे पनि पछिल्लो पुस्ताले भने कोदो खेतीमा कम रुचि देखाउँदै आएको थियो ।

तर पछिल्लो समय कोदोको रोटी र ढिँडो सहरी क्षेत्रमा समेत लोकप्रिय बन्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा कोदो खेती गर्न थालेका छन् । सडक विस्तारसँगै दाल, चामललगायतका खाद्यान्न गाउँघरमै सहज रूपमा पुग्न थालेपछि कोदोका परिकार खाने चलन भने घट्दै गएको छ । बाजुराका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणी क्षेत्रलगायतका स्थानमा कोदो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने अर्गानिक कोदो पछिल्लो समय देशका विभिन्न सहरमा समेत पुग्न थालेको छ ।

कोदो खेती स्थानीयको जीविकोपार्जनका लागि सहज माध्यम बनेकाले स्थानीय तहले पनि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्दै आएका छन् । जिल्लाको कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य रहेको छ । त्यसमध्ये ५ हजार २३५ हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लाको खाद्यान्न उत्पादनमा कोदोको योगदान २२ दशमलव ६२ प्रतिशत रहेको छ ।