खाेज्नुहाेस

नवजीवन सहकारीका सदस्यलाई अत्तरिया अस्पतालमा उपचारमा विशेष छुट

Image

अत्तरिया– नवजीवन सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई अत्तरिया अस्पतालले उपचारमा विशेष छुट दिने भएको छ । सहकारीमा आवद्ध शेयरसदस्य तथा शेयरसदस्यका परिवारहरुलाई अस्पतालले उपचारमा विशेष छुट दिने भएको हो ।

शुक्रबार अस्पताल प्रशासन र सहकारीका प्रतिनिधि बिच उपचारमा छुट सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार २०८३ साल असोज १६ गतेदेखि २०८४ साल असोज १५ गतेसम्म नवजीवन सहकारीका सदस्य तथा उनीहरूका परिवारका सदस्यले अत्तरिया अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् ।

attariya hospital
navjiwan hospital

सम्झौतामा सहकारीका अध्यक्ष गोपाल राज पाठक तथा महाप्रबन्धक प्रदिप राज जोशी र अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा. पारश पन्तले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अस्पतालले ओपीडी टिकटमा ५० प्रतिशत, जनरल बेड र क्याबिनमा १५ प्रतिशत, आईसीयू तथा एनआईसीयू बेडमा १० प्रतिशत छुट दिनेछ । त्यस्तै जनरल सर्जरी, अर्थोपेडिक तथा गाइनोकोलोजी सेवामा ८ प्रतिशत, प्याथोलोजी परीक्षणमा १५ प्रतिशत, भिडियो एक्सरे तथा एक्सरेमा १० प्रतिशत, इको, इन्डोस्कोपी तथा ईसीजीमा २० प्रतिशत र औषधिमा ६ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

छुट सुविधा लिन सहकारी सदस्यले आफ्नो सदस्यता प्रमाणपत्र वा परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा यसअघि अन्य कुनै प्याकेज, बीमा, सरकारी वा संस्थागत छुट सुविधा प्राप्त भइरहेको अवस्थामा भने दोहोरो छुट लागू नहुने उल्लेख गरिएको छ ।

नवजिवन सहकारी संस्थाका अध्यक्ष गोपाल राज पाठकले सहकारी संस्थाको वार्षिक कार्यक्रम अनुसार शेयर सदस्यहरुलाई राहत मिल्ने गरी सम्झौता गरिएको बताए । उनले सदस्यहरुले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन भन्ने संस्थाको उद्देश्य रहेको र सोही अनुसार विभिन्न अस्पतालहरुमा स्वास्थ्य सेवामा छुटका लागि सम्झातौ गरिएको बताए । उनका अनुसार शेयरसदस्य मात्रै नभई सदस्यका परिवारका सदस्यहरुले पनि स्वास्थ्य सेवामा छुट पाउनेछन् ।
यस्तै अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा.पारश पन्तले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नवजीवन सहकारी संस्थासँग स्वास्थ्य सेवामा छुट सम्झौता गरिएको बताए । उनले सो सम्झौताले नवजीवन सहकारी संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य सेवामा लाभ मिल्ने बताए ।