अत्तरिया – कैलालीको अत्तरियामा भोली (बुधबार)देखी ‘स्वास्थ्य युवा महोत्सव सुरु हुने भएको छ । समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा भोली देखी स्वास्थ्य महोत्सव सुरु हुन लागेको हो ।
मंसिर ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रक्तदान गरेर उद्घाटन गर्ने कार्यक्रम तय भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले जानकारी दिए ।

उनले स्वास्थ्य महोत्सवमा उद्घाटन पछि आँखा र महिलाहरुको पाठेघरको क्यान्सरको चेकजाँच गर्ने कार्यतालिका रहेको बताए । उनले त्यसपश्चात अपांगता भएका व्यक्तिहरुको सवालमा नेपाल सरकारले गरेका कामहरुका बारेमा प्रतिनिधि सभा सदस्य रमेश प्रसाई, निजि अस्पतालका प्रदेश पुर्व अध्यक्ष जनकराज जोशी, सुदूरपश्चिम अपांग महासंघका अध्यक्ष नन्दराज भट्टसँग प्यानल डिस्कसन गरिने बताए । प्यानल डिस्कसनलाई सुप समावेशी आधारभुत विद्यालयका प्रधानाध्यापक मान बहादुर साउँदले सहजीकरण गर्ने उनको भनाई छ ।

उनले आफूहरुले दाँतको चेकजाँच तथा परामर्श सेवा उद्घाटनको दिनदेखी गर्ने भनेको भएपनि विविध कारणले दोस्रो दिनदेखी सञ्चालन गर्ने कार्यतालिका बनेको बताए । उनले अन्तरक्रिया, विभिन्न चेकजाँचका कुरा तथा परामर्शका कुराहरु ६ गतेसम्म सञ्चालन हुने बताए । विभिन्न निजि अस्पतालहरुले महोत्सव सञ्चालनका लागि सहयोग र सहकार्य गरेको बताउँदै उनले महिलाहरुको पाठेघर क्यान्सरको चेकजाँचका लागि भने गोदावरी नगरपालिकाले सहजीकरण गरेको बताए ।
स्वास्थ्य युवा महोत्सवमा लागुऔषध दुव्र्यसनी, बाँझोपन, हर्मनको गडबडी लगायत विभिन्न मानसिक तनावहरुका विषयमा प्रत्येक दिन विशेषज्ञहरुद्धारा परामर्श दिने कार्य समेत गरिने मल्लले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल चेम्बर अफ कमर्स कैलालीका बरिष्ठ उपाध्यक्ष बंशिराम चौधरी (स्माइल) ले चिकित्सक, स्वास्थ्य संस्था र समुदायलाई एकठाउँमा ल्याउने र एकअर्कासँग जोड्ने उद्देश्य ले स्वास्थ्य युवा महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनले समाजमा बिरामी भएपछि मात्रै डाक्टर भेट्ने प्रचलन रहेको बताउँदै अब बिरामी भएपछि मात्रै नभई बिरामी कसरी नहुने भन्ने विषयमा जानकारी लिनका लागि डाक्टरलाई भेटाउन लागिएको बताए । उनले स्टेजमा महोत्सव सञ्चालन गरेर कलाकार ल्याउनु भन्दा डाक्टरलाई ल्याएर उपचार सेवा दिनु आफूहरुको उद्देश्य रहेको बताए ।




















