अछाम – अछामको साँफेबगर नगरपालिकाले कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको छ।
दुग्ध उत्पादन वृद्धि, उन्नत जातको भैँसीको नश्ल सुधार तथा कृषकको आम्दानी अभिवृद्धि गर्ने उद्देश्यका साथ कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको हो।


नगरपालिकाको पशु विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अन्तर्गत प्रति राँगा एक लाख २० हजार रुपियाँका दरले कुल तीन लाख ६० हजार रुपियाँ बराबरका तीन वटा मुर्रा राँगा वितरण गरिएको हो।
ती राँगा वडा नम्बर १ वैजनाथ, वडा नम्बर ३ सिद्धेश्वर र वडा नम्बर १२ खप्तडका कृषक समूहलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।
पशु विकास शाखाका प्रमुख पदम बहादुर थापाले स्थानीय भैँसीको उत्पादन क्षमता सीमित भएकाले उन्नत जातका मुर्रा राँगासँग प्राकृतिक प्रजनन गराउँदा जन्मिने पाडापाडी उच्च उत्पादन क्षमतायुक्त हुने बताए ।



















