खाेज्नुहाेस

धान–गहुँ छाडेर उखु खेतीमा लाग्दै कञ्चनपुरका किसान

Image

कञ्चनपुर –  परम्परागत रूपमा धान र गहुँ खेती गर्दै आएका कञ्चनपुरका किसान व्यावसायिक उखु खेतीतर्फ आकर्षित हुन थालेका छन्। खाद्यान्न बालीको तुलनामा उखु खेतीबाट बढी आम्दानी हुने भएपछि किसानले खेती प्रणाली नै परिवर्तन गर्न थालेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का किसान धनसिंह ठगुन्नाले उखु खेतीबाट राम्रो प्रतिफल पाउन थालेपछि खेती विस्तार गरेका छन्। सुरुमा दुई बिघा जमिनबाट उखु खेती थालेका उनले अहिले १२ बिघा जमिन भाडामा लिएर खेती गरिरहेका छन्।

attariya hospital

ठगुन्नाका अनुसार उखु खेतीमा धान र गहुँको तुलनामा कम मेहनत तथा लगानीमा बढी आम्दानी गर्न सकिन्छ। पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताएका छन्।

उनका अनुसार एक पटक उखु रोपेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिन्छ। पहिलो वर्ष रोपेको उखुको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो वर्ष पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन। यसले खेतीको लागत घटाउन सहयोग पुगेको छ।

navjiwan hospital

ठगुन्नाका अनुसार धान र गहुँ खेतीबाट सबै खर्च कटाएर एक बिघामा बढीमा ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। तर उखुको उत्पादन राम्रो भए एक बिघाबाट सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ।

उत्पादित उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुँदै आएको छ। मिलले किसानलाई प्रोत्साहन गर्न उखुको बीउ तथा कीटनाशक औषधिसमेत उपलब्ध गराउँदै आएको छ।

त्यस्तै, स्थानीय किसान तारा महरा पनि तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न छन्। उनले बिक्रीका लागि दुई बिघा जमिनमा उखु तयार पारेका छन् भने थप १० बिघामा बीउ रोपिरहेका छन्। उखु खेतीबाट खेतीको आम्दानीसँगै मौसमी रोजगारीसमेत सिर्जना भइरहेको उनले बताएका छन्। उनका अनुसार उखु खेतीको सिजनमा २० देखि २५ जनाले रोजगारी पाउने गरेका छन्।

कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ। जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको छ।

उखु खेतीबाट तुलनात्मक रूपमा बढी आम्दानी र बजारको सम्भावना देखिएपछि कञ्चनपुरमा किसानको आकर्षण बढ्दै गएको छ।