अछाम – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्रबार साँझ ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढा र ३१ वर्षीय गणेश बुढा स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा बासल्लास्थित भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएका थिए ।

भिरबाट लडेर गम्भीर घाइते भएका बिर्खे बुढाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बमले बताए ।

घटनामा घाइते गणेश बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र उपचारपछि उनी घर फर्किसकेको प्रहरीले जनाएको छ ।



















