एसइई २०८२ को नतिजा सार्वजनिक भैसकेको छ । यस वर्ष सुदूरपश्चिम प्रदेशबाट सहभागी ४२ हजार २९९ विद्यार्थीमध्ये २१ हजार ६६४ विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल सहभागीताको ५१.२१ प्रतिशत हो । अघिल्लो वर्ष अर्थात् एसइई २०८१ मा प्रदेशको उत्तीर्ण प्रतिशत ४२.३० मात्रै थियो । यस आधारमा हेर्दा सुदूरपश्चिमले यस वर्ष करिब ९ प्रतिशत सुधार गरेको देखिन्छ । कमजोर शैक्षिक सूचकांकका कारण लामो समयदेखि आलोचित बन्दै आएको प्रदेशका लागि यो नतिजा आशा जगाउने संकेत अवश्य हो ।
तर, केवल प्रतिशत वृद्धिलाई उपलब्धिको अन्तिम मापन मान्न मिल्दैन । किनभने देशभरका सात प्रदेशमध्ये सुदूरपश्चिमको नतिजा अझै पनि सबैभन्दा कमजोरमध्ये पर्छ । अझै ठूलो संख्यामा विद्यार्थी ‘नन ग्रेड’मा परेका छन् । हजारौँ विद्यार्थी आधारभूत तह पार गर्न नसक्नु केवल विद्यार्थीको कमजोरी होइन, यो शिक्षा प्रणालीकै संरचनागत समस्याको संकेत हो । परीक्षा परिणामले केवल विद्यार्थीको क्षमता होइन, राज्यको शैक्षिक तयारी, विद्यालयको वातावरण, शिक्षकको दक्षता र अभिभावकको चासोलाई समेत प्रतिबिम्बित गर्छ ।


सुदूरपश्चिमका दुर्गम जिल्लामा अझै पनि शिक्षाको अवस्था समान छैन । शहर नजिकका विद्यालयमा केही सुधार देखिए पनि पहाडी र हिमाली भेगका विद्यालयमा शिक्षक अभाव, नियमित पठनपाठनको कमी, विषयगत शिक्षक नहुनु, प्रयोगशाला र पुस्तकालयको अभावजस्ता समस्या जस्ताको तस्तै छन् । कतिपय विद्यालयमा विज्ञान र गणित शिक्षक वर्षौँदेखि रिक्त छन् । कतै विद्यार्थीले कम्प्युटर देखेका छन् तर प्रयोग गर्न पाएका छैनन् । यस्तो अवस्थामा विद्यार्थीबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक नतिजाको अपेक्षा गर्नु मात्र पर्याप्त हुँदैन ।
यस वर्षको नतिजामा केही सकारात्मक पक्ष पनि देखिएका छन् । स्थानीय तहको निगरानी, अतिरिक्त कक्षा सञ्चालन, नियमित आन्तरिक मूल्यांकन तथा शिक्षक–अभिभावक समन्वयले केही विद्यालयमा उत्साहजनक सुधार ल्याएको छ । तर, हाम्रो शिक्षा प्रणालीको मूल समस्या अझै समाधान भएको छैन । अहिले पनि धेरै विद्यालयमा पढाइभन्दा परीक्षा केन्द्रित अभ्यास बढी छ । विद्यार्थीलाई सिर्जनात्मक, व्यवहारिक र प्रविधिमैत्री शिक्षा दिनुपर्ने बेला अझै घोकन्ते प्रणाली हावी छ । शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, जीवन र समाज बुझ्ने आधार बन्नुपर्छ । तर हाम्रो विद्यालय शिक्षा अझै पनि रोजगारी, सीप र व्यवहारिक ज्ञानसँग पर्याप्त रूपमा जोडिन सकेको छैन ।
सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षालाई विशेष प्राथमिकतामा राख्नुपर्छ । विद्यालयमा गुणस्तरीय शिक्षक, पर्याप्त भौतिक पूर्वाधार, डिजिटल पहुँच, पुस्तकालय र प्रयोगशालाको व्यवस्था नगरी दीर्घकालीन सुधार सम्भव छैन । दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन, विद्यार्थीलाई प्रविधिमा पहुँच तथा अभिभावकलाई शिक्षाप्रति सचेत बनाउने कार्यक्रम आवश्यक छन् ।
एसइईको नतिजाले सुधारको संकेत दिएको छ, तर यसलाई शिक्षा क्षेत्रमा राम्रो उपलब्धी मान्न सकिदैन । केही प्रतिशत सुधार हुँदैमा शिक्षाको समग्र अवस्था सन्तोषजनक भयो भन्ने निष्कर्ष निकाल्नु हतार हुनेछ । अब आवश्यकता अंकको होइन, गुणस्तरको सुधार हो । राज्य, विद्यालय, शिक्षक, अभिभावक र समाज सबैले शिक्षालाई साझा जिम्मेवारीका रूपमा लिन सके मात्र सुदूरपश्चिमको शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन सम्भव हुनेछ ।


















